मूल्यवृद्धि नियन्त्रण गर्न नेविसंघको माग

काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताएको छ।

अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि भइरहे पनि सरकारले नियन्त्रण गर्न नसकेको उल्लेख गरेका छन्।

‘अस्वभाविक महँगी र मूल्यवृद्धिलाई यथाशीघ्र नियन्त्रण गर्न सरकारले अनुगमन र नियन्त्रणलाई कडाइका साथ लागु गर्नुपर्छ।

कालोबजारी रोक्नुपर्छ र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न नेविसंघ माग गर्दछ,’ अध्यक्ष शेर्पाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

मूल्यवृद्धिले जनताको जनजीवन कष्टकर बन्दै गएको नेविसंघको भनाइ छ। खाद्यान्नको कृतिम अभाव सिर्जना भएको र कालोबजारी हुँदासमेत सरकारले नियन्त्रण गर्न नसकेको आरोप नेविसंघको छ। कालोबजारी नियन्त्रण गर्न नसक्नु सरकार गैरजिम्मेवार रहेको नेविसंघको ठम्याइँ छ,’ उनले भनेका छन्।