राष्ट्रपति पौडेलले कैद माफी दिएका विकले गरे युवतीको हत्या

रुकुम पश्चिम। राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पुनः पक्राउ परेका छन्।

मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो।

घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो।

हत्यामा संलग्न रहेको पाइएपछि मंगलबार साझ खलंगास्थित आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो।

उनले हत्या स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरीका अनुसार दुवै जना बीच प्रेम सम्बन्ध (अनैतिक) रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेर हत्याको अवस्थामा पुगेको बयान दिएका छन्।

बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय माफी पाएका थिए।