हङकङमाथि नेपालले सहज जित निकाल्दै फाइनलमा

फाइल तस्वीर

काठमाडौं ।  नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ।कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको  कीर्तिमानी साझेदारीसँगै नेपालाले सहज जित निकाल्न सफल भएकाे हाे। लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो।

नेपालको सुरुवात भने राम्रो थिएन। ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११)को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो।

तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे। दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे।

टी-२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो। यसअघि न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए।