युएईलाई नेपालले दियो २८१ रनको लक्ष्य

काठमाडौं। एसिसि यू–१९ प्रिमियर कपको उपाधिका लागि युएईलाई नेपालले २ सय ८१ रनको लक्ष्य दिएको छ। मलेसियमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले उक्त लक्ष्य दिएको हो।

कप्तान देव खनालको कीर्तिमानी शतकको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रनको योगफल तयार पारेको थियो। खनालले ९० बलमा शतक रन पुरा गरेका थिए।

नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो। कप्तान खनाल र अर्जुन कुमालले १२५ रनको साझेदारी गरेका थिए। कुमाल २६औं ओभरको पाँचौं बलमा आउट भए। उनले ५५ रनको योगदान दिएका थिए।

उत्तम थापामगरले पनि अर्धशतक पुरा गरे। पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए।उता युएईका हरित शेट्टीले ५ विकेट लिएका थिए।