रेशम चौधरीविरूद्धको रिटको पेसी पौष १६ गते तोकियो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ।

न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको थियो। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको जानकारी दिएका थिए । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।