मुगुको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी एकजना पक्राउ

काठमाडौं। मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उच्च प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा गोरखराज शाही ठकुरी छन्।

पक्राउ गरिएको आरोपितको नाम प्रहरीले औपचारीकको रुपमा सार्वजनिक गरेको छैन। उनी मृतक परिवारका आफन्त हुन्। प्रहरी स्रोतका अनुसार ठकुरी छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका स्थानी हुन्।

कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका थिए। सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिमलाई मुगु पठाइएको छ।

छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

सामूहिक हत्यापछि आरोपितले ढोकामा ताला लगाएर हिँडेका हुन्। श्रीदेवी बोहराको मोबाइल घटनास्थलमा भेटिएको छैन।