नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा ४०० बढी कर्मचारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा गरी ४०० भन्दा बढी कर्मचारी माग गरेको छ । प्रधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म ४०० बढी कर्मचारी माग गरेको छ ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले कर्मचारी माग गरेको हो । प्राधिकरणले सबैभन्दा माथिल्लो पद दशौं तहको सहनिर्देशकदेखि तेस्रो तह सम्मका प्रशासन र प्राविधिक तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले दशौं तहमा प्रशासन सेवाको लेखा समूहतर्फ १ जना सहनिर्देशक र प्राविधिकतर्फ सिभिल समूहका १ जना प्रबन्धक माग गरेको छ ।

प्राधिकरणले उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर तथा सहायक स्तरका विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा दरखास्त माग गरेको छ।

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले माग गरेअनुसारको पदमा भर्ना हुन इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नु पर्नेछ।

दरखास्त आह्वानका लागि पदअनुसार फरक–फरक शुल्क तोकिएको छ भने प्राधिकरणको बेवसाइटबाट अनलाइन आवेदन समेत दिन सकिने छ।