मुलुकको अवस्था गम्भीरः देश चलाउन विदेशी ऋण र राज्य सञ्चालकहरुलाई सत्ता टिकाउनकै पीर

पछिल्लो समय नेपाल सरकारले भटाभट विदेशी ऋण लिइरहेको छ। भुरादेखि बुढासम्मलाई नेपालको सार्वजनिक ऋण झण्डै २६ खर्ब रुपैयाँ पुगेको थाहा छ। मुलुकको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ जना छ, एक जनाको थाप्लोमा एक लाख रुपैयाँ विदेशी ऋण पुगेको छ। भर्खर जन्मेको शिशु समेतले ऋणको भारी बोकेका छन् । तर, कुन देशबाट कति रकम आयो ?

त्यो रकम कहाँ गयो ? नेपाली जनतालाई थाहा छैन्। किन कि जनताले त्यो पैसा देखेका पनि छैनन्, खाएका पनि छैनन्। खाने त राज्य सञ्चालक, नेता, भूपू राजा, सरकारी कर्मचारी, सांसद्, स्थानीय जनप्रतिनिधिलगायत हुन् । पहिलो कुरा त देश सबै नेपालीको हो। जो–जोसँग नेपाली नागरिकता छ, ती सबैको देश हो नेपाल। तर, ऋण लिने बेलामा त जनताको अनुमति लिइएन्।

जनतालाई पैतालामूनि राखेर केही ‘दलाली’ हरुले देश चलाउने नाममा धमाधम ऋण लिए। देशलाई नै धितो राखेर ऋण लिइयो । केही वर्षमै सार्वजनिक ऋण ह्वात्तै बढ्यो। विकास गर्ने भन्दै ऋण लिने अनि मिलीजुली खाने प्रवृत्ति मौलाउँदा नेपालीले खाँदै नखाएको ऋणको भारी बोक्नुपरेको छ। यस्तै पारा रह्यो भने अबको दुई वर्षमा २६ खर्बको दोब्बर हुन्छ। सरकारले एउटा देशबाट ऋण लिन्छ, अर्को देशको किस्ता तिर्छ।

यता पनि ऋण, उता पनि ऋण। अहिले मुलुकको अवस्थाबारे सबैलाई राम्रो ज्ञान छ । देशको अर्थतन्त्र कुन अवस्थाबाट ग्रुजिएको छ ? त्यो पनि छर्लङ्ग छ । राजश्व निकै न्यून मात्र उठिरहेको छ। उठेको राज्यले सरकारी खर्च नै धान्न पुग्दैन्। आम्दानी छैन्, खर्च भने बढेको बढ्यै छ। सरकारलाई यतिबेला सरकारी खर्च धान्न नै महामुश्किल छ। पैसा नहुँदा विभिन्न क्षेत्रको भुक्तानी रोकिएको छ।

जनताले कर तिर्लान् र विदेशीको ऋण तिरौंला भनेर सरकारले नसोच्दापनि हुन्छ। किन कि जनता आफैं नाजुक स्थितिबाट गुज्रिरहेका छन्। राज्य सञ्चालकहरुले मुलुकको अर्थतन्त्र ठीकठाक छ भनेपनि जनताले पत्याउँदैनन्।

किन कि बजारको अवस्थाले नै त्यसलाई पुष्टि गर्दछ। श्रीलंका अहिले बल्लतल्ल अप्ठेरो अवस्थाबाट उठिरहेको छ। देशमा कठिन परिस्थिति आएको थाहा हुनेबित्तिकै उनीहरु सडकमा उत्रिए।

राष्ट्रपतिलगायतलाई लखेटे । विदेशी ऋण तिर्न सक्दैनौं भनेर हात उठाए । जसले गर्दा श्रीलंका जोगियो। आज श्रीलंका रहनु र फेरि उठेर त्यहाँसम्म आइपुग्नुमा जनताको ठूलो भूमिका छ । श्रीलंकाको अवस्था नेपालमा नआउला भन्न सकिँदैन्। त्यसैले जनताले सरकारलाई खबरदारी गर्न आवश्यक देखिएको छ । विदेशी ऋण मिनाहा गर्न सरकारले कुनै कदम चालेको छैन्।

थप ऋण लिने कार्य मात्रै भइरहेको छ । यता, जनताले पनि खबरदारी नगर्ने हो भने त भोलि नेपाल नै सिद्धिने अवस्था आउँछ। देशलाई यतिबेला कार्यकर्ताको भन्दा धेरै जनताको आवश्यकता छ। जनता कार्यकर्ता बनिदिँदा पनि मुलुक तहसनहस बन्यो। पार्टीको कार्यकर्ताभन्दा पहिले जनता हौं भन्ने कुरा अब सबैले बुझ्न जरुरी भइसकेको छ । नेताहरुले आफ्नो मनमर्जी चलाए।

जसले गर्दा देशमा बेतिथि बढ्यो । अन्तर्राष्ट्रिय स्तरमा नेपाल बद्नाम बनेको छ । देश लथालिङ्ग छ, भ्रष्टाचार मौलाएको छ । नेताहरुले काखी च्याप्दा ठूल्ठूला व्यापारीहरुले कर छलेका छन् । जनताले नेताहरुलाई अझैपनि सुध्रिने मौका दिन्छन्। उनीहरुले राष्ट्र र जनताको हित हुनेगरी काम गर्नुपर्यो । भ्रष्टाचार गरेर जोडेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्यो । जनतालाई ख्यालख्याल सोच्नु भनेको नेता र सरकारी कर्मचारीको ठूलो भूल हो ।
जनताको बलमा विभिन्न मितिमा राजनीति परिवर्तन भयो। राजाले दरबार छोड्नुपर्यो। देशमा जनताभन्दा ठूलो कोही छैनन् भन्ने कुराको हेक्का सबैले राख्न जरुरी भइसकेको छ। नेताले जति मनोमानी चलाउनुथ्यो, चलाइसकें। पानी टाउकोभन्दा माथि गइसकेको छ,कति सहने ? अहिले पहिलेको जस्तो अवस्था छैन्। शिक्षा, सञ्चार नहुँदा त राजनीति परिवर्तन भयो।

अहिले धेरै जनता शिक्षित भइसकेका छन् । कुनै न कुनै माध्यमबाट जनता सञ्चारसँग जोडिएका छन्। अनि अझैंपनि जनतालाई कमजोर सोच्नु राज्य सञ्चालक र सरकारी कर्मचारीहरुको गल्ती हो। जनताले चाहे भने यहाँ जेपनि हुन सक्छ। कुरो यतिमात्र हो कि जनता अहिलेसम्म हेरिरहेका छन् । केही होला कि भनेर कुरेर बसिरहेका छन् । तर, जब जनता तात्छन्, तब सबैको मनोमानी गर्ने दिन सकिन्छ।

देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ, सबै पार्टीलाई एकअर्काको खुट्टा तान्दै ठिक्क छ । देश जाओस् भाँडमा, हामीलाई त सत्ता चाहिएको होजस्तो चर्तिकला नेताहरुले देखाइरहेका छन् । एकअर्कामाथि हिलो छ्यापेरै भ्याइनभ्याइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै सीट आफूले जित्ने बताएका छन् । पहिलो कुरा त २०८४ सालसम्म देश रहन्छ कि रहँदैन् ? थाहा छैन् ।
जनताको अवस्था के छ ? यो विषयमा कसैलाई मतलब छैन् । सत्तामा जान पाइन्छ कि पाइँदैन् ? भन्ने कुरामै सबै केन्द्रित छन्। मुलुकमा बढेको विदेशी हस्तक्षेप, बजार मँहगी, व्यापार घाटा, बेरोजगारीको बारेमा कोही बोल्छ ? पछिल्लो समय नेपालमा विदेशी मुलुकले नाङ्गो हस्तक्षेप गरिरहेका छन् । तर, सरकारका प्रतिनिधिहरुको यसमा ध्यान छैन्। खुट्टा तानेरै भ्याइनभ्याइ हुनेले यस्ता विषय हेर्न पनि भ्याउँदैनन्।

मँहगीले आकाश छोएको छ। सर्वसाधारणको ढाड सेकिएको छ। बिहान खाए बेलुका के खाने भन्ने चिन्तामा हुन्छन्, सर्वसाधारण। रोजगारी छैन्। बेरोजगारको संख्या बढेको बढ्यै छ। बजारमा देखिएको मन्दीसँगै रोजगारहरु पनि बेरोजगार बनेका छन्। यता, व्यापार घाटाले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई झनै शिथिल बनाएको छ। देशको आफ्नो उत्पादन केही छैन्, अनि व्यापार घाटा नहुनु पनि किन ?

स–साना सामानका लागि अन्य मुलुकको मुख ताक्नुपरेको छ। भएका कलकारखाना पनि ‘बिचौलिया’ हरुले बन्द गराइहाले। नेपाललाई विदेशीको व्यापार गर्ने थला बनाएका छन्। विकासको मूल फुटाउँछौं भन्दाभन्दै देश नै ध्वस्त बनाइहाले। मूल फुटाउनु त परको कुरो कतै विकासको छिद्रो पनि देखिएको छ। यति हुँदासम्म पनि जनता मौन छन्। सरकार अहिलेपनि जनताले केही गर्न सक्दैनन् भनेर घमण्ड गरेर बसेको छ।

जनता सडकमा उत्रिए भने सेना र प्रहरी लगाएर तह लगाउँछौं भन्ने सोच राज्य सञ्चालकहरुको छ । २०६१ माघ १९ गते राजाले जनताको अधिकार खोसेर आफ्नो हातमा लगे। २०६२–६३ सालको १९ दिने आन्दोलनपछि राजाले जनताको अधिकार जनतालाई नै सुम्पिए। २०६५ जेठ १५ गते लोकतन्त्र घोषणा भएपछि राजाले दरबार छोडे। उनीसँग सेना थियो तर उनले सर्लक्क दरबार छोडेर नागार्जुन गए।

अहिले पनि राजा नेपालमै बसिरहेका छन्। राजा मठमन्दिर जाँदा जनताले स्वागत गर्छन् । किन कि उनले जनताको नासो पनि फिर्ता गरिदिए र दरबार छोड्ने बेलामा एक जना नेपाली पनि मारेनन् । त्यसैले, नेताहरुले जनतामाथि दमन गर्छौं भनेर नसोच्दा पनि हुन्छ । किन कि दमनको मूल्य ठूलै चुकाउनुपर्ने हुन सक्छ । नेताहरुको अबचाँहि चेतना आओस्।

जनतालाई भ्रममा राखेर सत्ता चलाइरहन्छौं र विदेशीबाट ऋण ल्याएर मोजमस्ती गर्छौं भन्ने सोच अहिलेपनि सरकारका प्रतिनिधिहरुको छ । यो सोच टुट्न धेरै बेर लाग्दैन्। राज्य सञ्चालकहरुले जनताको कुरा नसुन्ने र आफ्नो शासन मात्र चलाउन खोज्ने हो भने यिनीहरु टिक्लान् भन्न सकिँदैन्।