भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको संसदीय समितिको निष्कर्ष

काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमनमा पुगेको संसदीय समितिले राहत वितरणको काम प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भौगोलिक विकटता, जनशक्तिको अभाव तथा उचित व्यवस्थापनको कमीकमजोरी देखिएको र यसबाट पीडित परिवारका लागि राहत वितरणको काम अपेक्षाकृत हुन नसकेको निचोड निकालेको हो।

समितिले प्रभावित क्षेत्रको अवस्था र तत्काल चाल्नुपर्ने कदमसहित सुझाव प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी समेत गरेको छ।

समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई विना भेदभाव र पूर्वाग्रह समेत नराखी राहत वितरण गर्न आग्रह समेत गर्नुभएको छ।

सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

चिसोको कारण प्रभावितहरूको स्वास्थ्य अवस्था बिग्रन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभएको छ। चिसो बढ्दै जाँदा भूकम्प पीडित थप मारमा छन्।