मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं। काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।

मोटरसाइकल पल्टिएर सडकबाट ८० मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा चौंरीदेउराली-६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईं रहेकी छिन् ।

उनको घटना स्थलमा नै मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईंको घाइते भएका छन्। उनको आँखामा र टाउकोमा लागेको र उनको अवस्था गम्भीर रहेको सुचना अधिकारी श्रेष्ठले बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र)मा उपचार भइरहेको छ। मृतक गोमा मोटरसाइकल चालक दिल्लीको श्रीमती हुन्।