पालमै तिहार मनाउँदै,भूकम्प प्रभावितहरू

काठमाडौं। तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ। देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैले दुःख मेटाउने बहाना खोजिरहेको अनुमान गर्न सकिन्छ। तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ।

चिसो सिरेटोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि यही कात्तिक १७ शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन्।

भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सक्ने अवस्थामा छैनन्। जाडोको समयमा खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन निकै धौ–धौ छ। यद्यपि, पालमुनी भए पनि बत्ती बालेर दीपावली सुरू भएको पहिचान भने दिएका थिए।

भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भयो। भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन्।

कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन्। कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन्। विस्थापित सबैको बास भनेकै पालमुनि हो। दसैं घरमा मनाएका उनीहरु भूकम्प आउने डरले चिसो भए पनि पालमुनि बस्न बाध्य छन्।

सहर तथा गाउँमै पक्की घर भएका नागरिकका घर आँगन रङ्गौलीले सजिरहँदा भने भूकम्पपीडितले आइतबार त्यही पालमुनिको बासस्थानमै दीप प्रज्वलन गरे। जाजरकोट नलगाड नगरपालिका निवासी एक स्थानीयले पालमुनि दीपावली गरेको तस्बीर अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ।

तिहारको रौनक चलिरहँदा भूकम्पीडितलाई रातिको चिसो कसरी छल्ने भन्ने कुराले पिरोल्न थालेको कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंह दुखेसो पोखे। ‘नमरुञ्जेलसम्म आफ्नो संस्कृति र आस्था मार्ने कुरा त भएन तर आनन्दका साथ तिहार मनाउने अवसर भूकम्पका कारण गुमेको छ,’ उनले भने।

भेरी नगरपालिका जाजरकोट निवासी दिनेश सिंहले भूकम्पबाट भाग्यले बाँचिएको बताउँदै पालमुनिको तिहार मनाउन समस्या भएको बताए।

‘तिहार आफ्नो ठाउँमा छ बरु सरकारले चिसोमा कठ्याङ्ग्रिएका जनताको समस्यालाई छिटो बुझेर घरटहरा हालिदिएको भए हुन्थ्यो, उनले भने, ‘तिहार त यसपटक मनाउन नपाए अर्को पटक आइहाल्ला। एकबारको जीवन बचाउनेतर्फ लाग्नुपर्‍यो।’

जुनीचाँदे गाउँपालिकाका मनसरा रावतले फेरी भूकम्प आएर आएर जीवन सक्याउने हो कि भन्ने त्रासले तिहारको कुनै रमझम नभएको प्रतिक्रिया दिइन्। भूकम्पबाट बास खोसिएकाको जीवनरक्षाका लागि सरकारले जतिसक्दो छिटो पुनःस्थापना तथा पुनःनिर्माणका काम थालिदिएको भए आफ्नो लागि सबैभन्दा ठूलो तिहार त्यही हुने उनको भनाइ थियो।