प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

सांकेतिक तस्वीर

जनकपुरधाम । महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।

दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको बताए।

उनका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइयो । महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको डिएसपी गिरीले बताए ।

त्यतिबेला रातिको १० बजेको थियो । उनीहरुमाथि तीन राउण्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको डिएसपी गिरीले बताए । दुबैजनाको वायाँ तिघ्रामा गोली लागेको छ ।

डिएसपी गिरीका अनुसार यही कात्तिक २० गते बिहान २ः३० बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको थियो। उनीहरुसहित ७/८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए । त्यसक्रममा घरपरिवारका सदस्यहरुलाई कुटपिट गरी ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार डकैती भएको प्रहरीको भनाइ छ।

सोही घटनाको अनुसन्धान गर्दै जाँदा डाँका गर्ने मध्येका शक्ति पासवान र अजय पासवानलाई पक्राउ गरेको डिएसपी गिरीको भनाइ छ । पक्राउ गर्ने बेला शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउण्ड गोली समेत बरामद भएको डिएसपी गिरीले बताए।

दुबैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।