जाजरकोट भूकम्पपीडितको आँगनमा आएन तिहार

काठमाडौं। जाजरकोट भूकम्पले मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो। सयौं घरबारविहिन भए। प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ। उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन।

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भूमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो।

दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पुर्णगाउँमा मृत्यु भएको थियो। उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए।

यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ। आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदै। उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ।

यति बेला धेरै ठाउँमा तिहारको रौनक छ। ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाईलो गरिरहेका छन्। तर लक्ष्मण जस्तै सयौं भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन।

भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताए।

‘अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो,’ उनले भने।

तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसको नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताए।

तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षीत बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताए।

 त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताइन्। यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गरिन्। उनले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गरिन्।

भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ। भूकम्प प्रभावित क्षेत्रमा तिहारलगतै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए।

यसैबीच भेरी नगरपालिकाले राहत वितरण रोकेको छ। पहिला वितरण गरिएको राहत विवरण रुजु गर्न भन्दै तत्कालका लागि रोकिएको निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिएका छन्।

‘प्रस्तुत विषयमा २०८०/०७/१७ गते राती ११ः४७ बजे गएको भूकम्पबाट ठूलो जनधनको क्षति भई प्रभावित घरपरिवारलाई राहत वितरण गरिँदै आएकामा तथ्यांकहरूको यकिन गर्न केही समय लाग्ने भएकोले अर्को सूचना प्रकाशन नभएसम्म पहिलो चरणको राहत वितरण कार्य स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

राहत अपुग भएका अति संवेदनशील प्रभावित जस्तै गर्भवती तथा सुत्केरी महिला र दीर्घरोगीहरूले आफ्नो पहिचान खुल्ने कागजात लगे वितरण गरिने नगरपालिकाले बताएको छ।

‘सम्बन्धित अस्पतालको बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण र सम्बन्धित वडा कार्यालयको सिफारिशसहित निवेदनका साथ मात्र यस कार्यालयमा सम्पर्क राख्न हुन साथै अन्य राहत प्राप्तिका विषयमा जानकारी लिन आ–आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत सम्बन्धित सबैमा यसै सूचनामार्फत् जानकारीका साथ अनुरोध छ,’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।