टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न प्राधिकरणले बनायो समिति

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ।

दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो। समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन्।

उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरेर नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेश गर्ने संयोजक विजयकुमार रायले जानकारी दिए।

‘हामी कुन कुन आइएसपीले टिकटक प्रतिबन्ध लगाए,कुन कुनले सकिरहेका छैनन् वा कठिनाइ भरहेको छ, त्यसको खोज अनुसन्धान गरिरहेका छौं, यसबारेमा ७ दिनभित्रै रिपोर्ट तयार गर्नेछौं।

यसअघि शुक्रबार नै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ। सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो।

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पनि पठाएर टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयनमा सहयोगका लागि आग्रह गरिएको छ।

टिकटकलाई बन्द गर्ने सरकारो निर्णयविरुद्ध शुक्रबार नै सर्वोच्च अदालतमा १० वटा निवेदन परेकव छ। कानून व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निर्णय गैरसंवैधानिक रहेको दावी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन्। सर्वोच्च अदालत प्रशासनले सबै रिट निवेदनलाई एकैसाथ राखी आगामी सोमबार (४ मंसिर) मा प्रारम्भिक सुनुवाइको मिति तोकेको छ।

मन्त्रिपरिषदले ‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’निर्णय गरेको थियो। बिदाकै दिन सरकारी कार्यालयहरु खुलाएर सरकारले निर्णय कार्यान्वयन गराएको थियो।