राजनीतिक दलहरुले काम नगर्दा नेता बने दुर्गा प्रसाईं,अझैपनि ख्यालख्याल गर्ने हो भने व्यवस्था पर्न सक्छ संकटमा !

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही महिनाअघि एउटा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३० अर्ब रुपैयाँ लगानी भएको बताएका थिए।

सो अभिव्यक्तिपछि केन्द्रीय अनुसन्धान ब्यूरोले बोलाएर सोधपुछ पनि गर्यो । यता, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रसाईंलाई तत्काल पक्राउ गर्न आग्रह गरे।तर, प्रधानमन्त्री प्रचण्डले प्रसाईंलाई समात्न निर्देशन दिएनन् ।

त्यसमै झोकमा आएर ओली र एमालेको पोलिब्युरो सदस्य महेश बस्नेतले सडक आन्दोलनको घोषणा गरे। जुन दिन प्रसाईंले आन्दोलनको मिति घोषणा गरेका थिए, एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पनि सोही दिन अर्थात मंसिर ७ गते आन्दोलन गर्ने भएको छ। एमालेको आन्दोलनको एउटै उद्देश्य छ,‘दुर्गा प्रसाईंको विरोध गर्ने।

दुवै पक्षले एकैदिन आन्दोलन गर्ने भएपछि सरकारले समेत निषेधाज्ञा जारी गर्नुपरेको छ । प्रसाईंले आन्दोलन गर्ने दिन नै युवा संघले पनि शक्ति प्रदर्शनको घोषणा गर्नु ठीक छैन्। युवा संघले एजेण्डा त विभिन्न बनाएको छ तर प्रसाईंसँग भिडन्त गर्नचाँहि आन्दोलन गर्न थालिएझैं देखिन्छ।

एमालेको कारणले प्रसाईं झन् चर्चामा आएका छन्। एमालेले प्रसाईंलाई चर्चामा ल्याएर ‘आफ्नो खुट्टामा आफैं बञ्चरो’ हानेको छ।
अहिले एमालेका कार्यकर्ता नै यो आन्दोलनदेखि सन्तुष्ट छैनन् ।

ओली र बस्नेतकै कारण एमाले तहसनहस हुने अवस्थामा पुगेको आरोप उनीहरुले लगाइरहेका छन्। पछिल्लो समय एमाले यस्तै हर्कतका कारण बद्नाम बन्दै गएको छ। ओली र बस्नेतलाई जोसँग पनि जुहारी खेल्ने बानी बसिसकेको छ। जसको असर २०८४ सालको चुनावमा देखिने निश्चित छ।

२०७४ सालमा पहिलो पार्टी भएको एमाले त्यसपछि एक तह तल झरेको छ। २०७९ सालमा एमाले दोस्रो पार्टी बनेको छ। ओली र बस्नेतको बोलीले नै एमालेलाई क्षति पुगेको एमाले कार्यकर्ताहरुको भनाई छ।

ओली र बस्नेतलाई पार्टीबाट ननिकालेमा पार्टी सिद्धिने उनीहरु बताउँछन्। अहिले एमाले सदनमा प्रमुख विपक्षी छ। तर, सदनमा एमालेका सांसदहरुले जनता र राष्ट्रका कुरा उठाएको पाइँदैन्।

ओलीले आफू प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरे। अदालतले दुवै पटक संसद ब्यूताइदियो। ९ महिनासम्म एमालेले सदन अवरोध गर्यो। त्यतिबेलासम्म एउटा कानुन पारित हुन सकेन्। तर, एमालेका सांसदले तलबभत्ता लिए, सरकारी गाडी चढे।

यो गल्तीको माफी न ओलीले मागेका छन् न एमालेका सांसद्ले । ओलीलाई त अर्कामाथि ‘बोलीको गाली’ प्रहार गरेर भ्याइनभ्याइ छ, के माफी माग्थें ?

बस्नेतको त झन् कुरै नगरौं। कुनै कार्यक्रममा पुगे भने गुण्डा भाषाको झटारो दिइहाल्छन्। एमालेका अन्य सांसद् पनि ‘उही ड्याङ्गका मुला’ हुन्। २०४६ सालअघि राजनीति परिवर्तनमा लागेका, जेल बसेका नेताहरु निकै चिन्तित छन्। ओली र बस्नेतको कारणले पार्टी नै सिद्धिने हो कि भन्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ। एमालेलाई जनताको आवश्यकता नै छैन्।

२०७९ सालको चुनावअघि एमालेले ओलीलाई प्रधानमन्त्रीको घोषणा गर्यो । जनताले मतदान गरेकै छैनन्, उताबाट प्रधानमन्त्री घोषणा भइसकें। यता, मंसिर ४ गतेको चुनावपछि म प्रधानमन्त्री हुँ भन्दै ओली कुलिँदै हिँडे। तर, जनताले भोट दिएनन्। २०२८ सालमा मान्छे मारेर ओली जेल बसेका थिए। राजनीतिक परिवर्तनका लागि उनी जेल बसेका होइनन्।

तर, उनले त्यसलाई यसरी घुमाए, कसैले थाहा नै पाएनन् । महेश बस्नेतको पृष्ठभूमि केलाउने हो भने उनी हप्ता उठाउने गुण्डा हुन्। २०७० सालअघि उनीसँग केही पनि थिएन्। उनी गुण्डा हुन्।

यी दुईलाई कुटनीति र राजनीतिबारे केही पनि थाहा छैन्। यिनीहरुलाई बोल्न र एकअर्कामाथि हिलो छ्याप्न मात्रै आउँछ। बस्नेतले अहिलेपनि गुण्डा भाषाशैलीको प्रयोग गर्छन्।

उनले केही दिनअघि एउटा कार्यक्रममा एमालेको विरोध गर्नेलाई जुम्रा किचेझैं किच्छु भनेर भाषण गरेका थिए। ओली आफूमाथि आरोप लाग्नेबित्तिकै प्रधानमन्त्रीका धाउने, समात्न खोज्ने, सडक आन्दोलनको घोषणा गर्ने। यही हो राजनीति र कुटनीति। दुर्गा प्रसाईं एउटा व्यक्ति हुन्। न उनको कुनै पार्टी छ। उनलाई सिद्धयाउन यतिबेला समग्र एमाले लागिपरेको छ।

एमालेको यो आन्दोलन घोषणापछि औंला ओलीमाथि नै आएर तेस्रिएको छ। सर्वसाधारण भन्छन्,‘आफूमाथि लागेको आरोप ढाकछोप गर्नका लागि ओलीले कार्यकर्ता सडकमा उतार्न थालेका हुन्।

एमाले बनाउन धेरै व्यक्तिको योगदान छ। एमाले त्यत्तिकै एमाले बनेको होइन्। तर, ओली र बस्नेत मिलेर एमाले सिद्धयाइदिए । एमालेप्रति आस्था राख्ने र मतदान गर्नेहरु ओली र बस्नेतको कारणले निराश बनेका छन्।

देशको आर्थिक अवस्था अहिले डामाडोल छ। बेरोजगारको संख्या निरन्तर उकालो लागिरहेको छ। मँहगीले जनताको ढाड सेकिएको छ । तर, सदनमा एमालेका सांसद यी विषयमा आवाज उठाउँदैनन्। उनीहरुलाई राष्ट्र र राष्ट्रियता भन्ने थाहा छैन्। एमालेबाट ७८ जना सांसद छन् । एमालेका एक जना सांसदले तलबभत्ता नलिने, सरकारी गाडी नचढ्ने भनेका छैनन् ।

केन्द्रमा मात्रै होइन्, स्थानीय तहका एमालेका जनप्रतिनिधिहरु पनि त्यस्तै ‘लोभी’ छन् । आफ्नो घरको खाएर देश र जनताका लागि काम गर्छौं भन्ने आँट एमालेका जनप्रतिनिधिसँग छैन्।

विपक्षीको प्रमुख दल भनेको त ठूलो दल हो। विपक्षीले नयाँ शैलीबाट काम गर्न सक्नुपर्थ्यो। विडम्बना, ठ्याक्कै उल्टो भयो। संसद् अवरोध गर्ने अनि तलबभत्ता खाइरहने। एमालेका सांसदहरुलाई लाज लाग्नुपर्ने हो।

ओली आफूलाई व्यङ्ग्यकार ठान्छन्। जतिबेला पनि अर्कामाथि व्यङ्ग्य गरिरहेका हुन्छन्। ख्याल ठट्टा गर्न मात्रै जानेका यस्ता पनि विपक्षी दलका नेता। उनको बोलीले जनतामा धेरै प्रभाव पार्छ। उनी पार्टीका अध्यक्ष, विपक्षी दलका नेता मात्रै नभएर पूर्वप्रधानमन्त्री समेत हुन्। प्रधानमन्त्रीको बोल्ने शैली यस्तो हुन्छ ? २०४६ सालपछि सबै पार्टी सरकारमा गएको छ।

भर्खर उम्रेका पार्टीसमेत सरकारमा पुगेको छ । माओवादी, कांग्रेस, जनमोर्चा, एमाले, राप्रपा, रास्वपा, मधेशी दल सरकारमा गयो । नगएको भनेको नेमकिपा मात्रै हो । चोखो त यहाँ कोही पनि छैनन्।

सबै पार्टी मिलेर देश सकाइएको हो। तर, अहिले पनि एउटाले अर्कोमाथि हिलो छ्यापेर आफू बस्न खोजेका छन् । अर्कामाथि प्रश्न गरेर आफू उम्किने ठाउँ छैन्।

देश यो अवस्थामा पुर्याउनुमा सबैको बराबरको हिस्सेदारी छ। सबैले जिम्मेवारी लिनुपर्छ। मुलुकलाई कसरी सही ट्रयाकमा ल्याउने ? नाङ्गो विदेशी हस्तक्षेप कसरी रोक्ने ? जनतालाई कसरी सरकार छ भन्ने प्रत्याभूति दिलाउने?

कुनै पनि पार्टीले जनताको विषयमा सोचेकै छैनन्। यदि पार्टीहरुले जनता र राष्ट्रको हितमा काम गरेको भए, भ्रष्टाचार नगरेको भए, मँहगा गाडी नचढेको भए, दुर्गा प्रसाईंको पछाडि केलाई जनता लाग्थें ?

प्रसाईंदेखि किन राजनीतिक दल डराउनुपर्थ्यो ? प्रसाईं त बैंकको ऋण तिर्न नसकेर डुबेको व्यक्ति हुन्। उनको पछाडि किन यसरी जनता लागेका छन् ? राजनीतिक पार्टीहरुले कहिले सोचका छन् ?

जुन साथ र समर्थन राजनीतिक दलहरुले पाउनुपर्थ्यों, त्यो आज एउटा व्यक्तिले पाएको छ। किन कि प्रसाईंले जनताको समस्या बोलिदिएका छन्। बैंक तथा वित्तिय संस्थाको ज्यादती, सहकारीको ठगी, भ्रष्टाचार, मँहगीको विषयमा उनले आवाज उठाएका छन्।

जनताबाट चुनिएर गएका अधिकांश सांसद सदनमा निदाएर बसेको देखिन्छ। उनीहरु कुर्सीमा भुर्कुट हुन्छन्। सभामुख देवराज घिमिरेले दुर्गमका सांसदलाई बोल्न दिँदंैनन्।

गगन थापाजस्तालाई मात्रै बोल्न समय दिन्छन्, सभामुख। दुर्गा प्रसाईंलाई आज नेता बनाउने राजनीतिक दलकै नेता हुन्। प्रसाईंको पछाडि जनता लाग्न बाध्य बनाउने पनि नेता नै हुन् । प्रसाईंले यो व्यवस्थामाथि धावा बोलिसकेका छन्।

यो व्यवस्थालाई टिकाइराख्ने हो भनेर अब माओवादीका नेता सुध्रिनुपर्छ। जनताको हितमा काम गर्नुपर्छ, सरकारी गाडी चढ्न र तलबभत्ता लिन छोड्नुपर्छ । माओवादीले १० वर्षे जनयुद्धको उद्देश्य बिर्सिएको छ, त्यो फेरिपनि स्मरण गर्नुपर्ने बेला भएको छ।