सर्वोच्चद्वारा टीकापुर घटनाका ३ दोषीलाई रिहा गर्नुको कारण माग

काठमाडौं। सर्वोच्च अदालतले टीकापुर घटनामा संलग्न रेशम चौधरीबाहेक अरु तीन जनाको कैद सजाय छुट गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकको हत्याको घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको कैद छुट गर्ने सरकारको निर्णयबारे लिखित जवाफ माग गरेको हो।

संविधान दिवशको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायतका व्यक्तिको कैद छुट गरेका थिए।

सरकार र राष्ट्रपतिको उक्त निर्णयको विरुद्ध टीकापुर घटनामा हत्या गरिएका प्रहरीका परिवाका सदस्य शारदा कठायत र मन्धरादेवी विष्टले २१ कात्तिकमा सर्वोच्च अदालतमा रिट दिएका थिए । रिट निवेदनमा उनीहरुले हरिनारायण, वीरबहादुर र प्रदीपको कैद छुट बदरको माग गरेका थिए।

जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा रेशम चौधरी सहित १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो। उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको सजाय गरेको थियो। जिल्ला अदालतबाट ३ वर्षमात्रै कैद सजाय पाएका लक्ष्मण थारु समेत जन्मकैदको सजायमा परेका थिए।

सर्वोच्च अदालतले सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपबाट सफाइ दिएको थियो। लक्ष्मण चौधरीमाथि ३ वर्ष कैद फैसला भएको थियो। रेशम चौधरीसहित अन्यको हकमा भने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो।

सर्वोच्च अदालतको फैसलालगत्तै सरकारले माफीमिनाहाको प्रक्रियाबाट १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीको कैद मिनाहा गरेको थियो। थप हरिनारायण, वीरबहादुर र प्रदीप भने संविधान दिवसका अवसरमा छुटेका थिए।

गणतन्त्र दिवसको अवसरमा रिहा भएका रेशमको माफीमिनाहा विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ र उक्त रिट सर्वोच्च अदालतमा विचाराधीन छ।