मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध लडेको होइन: महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन्।

शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औँ पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन।

महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताए। उनले भने,चुनबाङ बैठकपछि काठमाडौँ उत्रेका हौँ । तर परिस्थिति उल्टो बन्यो। कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो।

महासचिव विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको उद्घोष गरे। उनले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौँमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धि गुमेको तर्क गरे।

महासचिव विप्लवले मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने समेत बताएका छन्।