भूकम्प पीडितलाई चिसोबाट जोगिनै मुस्किल

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । भूकम्प गएको झण्डै एक महिना हुन लाग्दा समेत प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण हुन सकेको छैन।

गएको कात्तिक १७ गते भूकम्प गएपछि प्रभावितहरु त्रिपालमुनि बस्दै आएका छन्। उनीहरुलाई रुघाखोकी, ज्वरो, दम बढ्ने र पखला लाग्नेलगायतका समस्या देखिन थालेको छ। चिसो बढ्न थालेसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई चिसोबाट जोगाउन मुस्किल पर्न थालेको छ।

प्रभावित क्षेत्रमा पहिलो चरण अन्तरगतको राहत वितरण सकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले जनाएका छन् । यस्तै, अस्थायी आवास बनाउनका लागि पनि तयारी थालिएको जिल्ला प्रशासन कार्यालयको दाबी छ ।