बालबालिकालाई स्पाको नाममा यौन धन्दा लगाउने स्पा सञ्चालक पाैडेल पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । रोजगारीको नाममा काठमाडौंमै बालिका तथा युवतीहरु बेचबिखन भएको घटना बाहिर आएको छ।

काठमाडौँ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोबाट खटिएको टोलीले बालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुकासाथै स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी ब्युरोले सार्वजनिक गरेको छ। उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारेर स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ।

पौडेलले रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा त्यहाँ काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्युरोले जनाएको छ।

काठमाडौंमा यसरी बालबालिकाको प्रयोग गरि अन्य स्पाहरू पनि सञ्चालन भइरहेको भन्ने खबर आएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरि कारबाही अगाडि बढाउने प्रहरीले जनाएको छ।