नेपाली सेनामा ‘किर्ते’हरूको बिगबिगी

काठमाडौं । राष्ट्रको प्रतिष्ठाको रूपमा हेरिने मुख्य सुरक्षा अंग नेपाली सेनाका अधिकृतहरूको हर्कतका कारण अन्तर्राष्ट्रिय स्तरमै नेपाली सेना बदनाम हुने अवस्थामा पुगेको छ।

पछिल्लो समय नेपाली सेनामा एकपछि अर्को गर्दै नक्कली शैक्षिक प्रमारणपत्र तथा नक्कली नागरिकता प्रकरण बाहिरिन थालेसँगै नेपाली सेनाको अन्तर्राष्ट्रिय छविमै प्रश्न उठ्न थालेको छ।

शान्ति सेनामा विश्वमै उत्कृष्ट छवि बनाएको नेपाली सेना आफ्नै अधिकृतहरूका कारण बदनाम हुँदै गएको हो। भावी प्रधानसेनापतिका रूपमा अघि सारिएका अधिकृतहरू एकपछि अर्को गर्दै नक्कली प्रमाणपत्र प्रकरणमा पर्न थालेका छन्।

प्रधानसेनापति प्रभुराम शर्मा ९ महिनापछि नियमित अवकाशमा जाँदै छन्। शर्मा अवकाश हुने समय आएसँगै सेनाले भावी प्रधानसेनापति छान्ने प्रक्रिया अघि बढाएको छ।

भावी प्रधानसेनापतिको रूपमा सैनिक मुख्यालयले उपरथी तारध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेको थियो। तर, उनी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो।

उजुरीमाथि छानबिन हुने भएपछि प्रधानसेनापतिको लाइन छोडेर पाण्डेले राजीनामा दिएर सैनिक सेवाबाटै बिदा लिएका छन्। उनले सेनाबाट राजीनामा दिए पनि उनीमाथि लागेको आरोपमाथि भने अख्तियारले अनुसन्धान अघि बढ्ने भएकाे छ।

भावी प्रधानसेनापतिको रूपमा अघि सारिएका उपरथी पाण्डेको बर्हिगमनपछि सेनाले अर्का उपरथी अशोकराज सिग्देललाई अघि सारेको छ। उपरथी सिग्देल रथी बढुवामा सिफारिस भएसँगै उनीविरुद्ध पनि नागरिकताको जन्म मिति फरक–फरक रहेको अभियोगमा अख्तियारमै उजुरी परेको छ। अख्तियारमा उजुरी परेसँगै सिग्देल पनि प्रधानसेनापतिको लाइनबाट बाहिरिने सम्भावना बढेको छ।

नक्की प्रमाणपत्र प्रकरण पाण्डे र सिग्देलमै रोकिने अवस्था रहेन। रथी बढुवा वरियतामा पाण्डे र सिग्देलपछिको वरियतामा रहेका अर्का उपरथी निर्मलकुमार थापा पनि उस्तै मुद्दामा मुछिएका छन्।

पाण्डे र सिग्देल प्रधानसेनापति नभएको खण्डमा प्रधानसेनापति बन्ने लाइनमा रहेका थापाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको छ।

पूर्वसैनिक अधिकृतहरूको नाममा दर्ता भएको उजुरीमा थापाको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै छानबिन गर्न माग गरिएको छ।

प्रधानसेनापतिको लाइनमा रहेका तीनै उपरथीमाथि नक्कली प्रमाणपत्रको आरोप लागेसँगै नेपाली सेनामा खैलाबैला मच्चिएको छ। अब कसलाई प्रधानसेनापति बनाउने भन्ने विषयले सैनिक नेतृत्वलाई तनाव भएको छ। स्रोतका अनुसार अर्का एक उच्च अधिकारी पनि नक्कली शैक्षिक प्रमाणपत्रकै कारण जागिरबाट हात धुने अवस्थामा रहेका छन्।

यसरी, सेनाका उच्च अधिकारीहरू नै नक्कली र किर्ते कागजात मुद्दामा फस्न थालेपछि सिंगो सैनिक संगठनमाथि नै प्रश्न उठ्न थालेको छ। सेनाका अधिकारीहरूको यस्तो हर्कतले अन्तर्राष्ट्रिय स्तरमै नेपाली सेनाको बदनाम हुने चिन्ता बढ्दै गएकाे छ।