विश्वकप लिग-२ को पहिलो सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग घरेलु मैदानमा खेल्ने

फाइल तस्बिर

काठमाडौं। आइसिसी एकदिवसीय विश्वकप २०२७ अन्तर्गको लिग-२ नेपालबाट सुरू हुने भएको छ। आइसिसी एकदिवसीय मान्यता प्राप्त ८ टिमबीच हुने सिरिज आगामी फागुनबाट सुरू हुने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ।

फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टिम नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

सिरिजमा तीन टिमले दुई पटक एकआपासमा भिड्नेछन् भने एक टिमले चार एकदिवसीय खेल खेल्नेछ।अघिल्लो लिग-२ को साइकलमा ७ टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटक ८ टिमले भाग लिँदैछन्।

अघिल्लो पटक आइसिसी स्थायी सदस्यसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्सले यसपटक लिग-२ खेल्दैछ।लिग-२ मा नेपाल, नेदरल्यान्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

अघिल्लो संस्करणमा नेपाल तेस्रो भएको थियो। अघिल्लो पटक नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएको थिएन विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो।