सभापति देउवाले अब प्रधानमन्त्री बन्दिनँ भन्नुपर्छ: महामन्त्री शर्मा

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन्। सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताएका हुन्।

शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न नहुने बताएका हुन्।

आदरणीय सभापति ५/५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शिरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरु या आउ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले भन्न सक्नुपर्छ’,उनले भने।

कांग्रेस सभापतिको शालीनता र सहृदयी भावनाका कारण त्यो दिन पनि आउने अपेक्षा गरेको महामन्त्री शर्माले बताए।

लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा, गगन थापा र नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदैमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए। शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान गौतम बुद्धको आशीर्वाद माग्न चाहेको बताए।

‘सभापति गइसक्नुभयो। नभए मैले सबैभन्दा बढी भगवान गौतम बुद्धको आशीर्वाद सभापतिको शिरमा माग्नेवाला थिएँ’,उनले भने,भगवान गौतम बुद्धका थुप्रै कुरा छन्, तर एउटै कुरा थप पुगिदिन्छ भन्ने कामना गर्न खोज्दैथिएँ। त्यो भनेको के हो भने भगवान गौतम बुद्धले वुद्धत्व प्राप्त गर्नुभयो,सत्ताको कुर्सीमा एक पटक पनि नबसिकन।