नेपाल सुपर लिगमा आज स्पोर्टिङ इलाम र बुटवल लुम्बिनी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ। खेल साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ।

दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ। नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ।

यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले झापा एफसीलाई हराएर पहिलो जित निकालेको थियो।

दुई खेलबाट ३ अंकसहित इलाम छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।

बुटवल लुम्बिनी पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २-० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १-० ले पराजित भएको थियो ।

स्पोर्टिङ इलामको मार्की र कप्तानमा विकेश कुथु छन् भने एरिक विष्टले बुटवलको कप्तानी गर्नेछन् । उनी मार्की पनि हुन्।