एसीसी यू-१९ एसिया कपमा पाकिस्तानसँग नेपालको हार

काठमाडौं। एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले हार बेहोरेको छ। शुक्रबार युएईको दुबईमा भएको खेलमा पाकिस्तानसँग नेपालले ७ विकेटको हार बेहोर्‍यो।

नेपालले दिएको १५३ लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। पाकिस्तानका लागि कप्तान शाद बाइग र अजन अवाइसले अर्धशतक प्राहर गरे।

पाकिस्तानका ओपनर शामयल हुसेनलाई नेपालका गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट गरेका थिए। गुल्सनले नै दोस्रो विकेट लिने क्रममा पाकिस्तानका शाहजइब खानलाई १५ रनमा दिपेश कँडेलबाट क्याच गराए।

नेपालका लागि तेस्रो विकेट आकाश त्रिपाठीले लिए। उनले २५औं ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान शाद बाइगलाई ५० रनमा सुवास भण्डारीबाट क्याच गराए।

अजनले नटआउट ५६ रन जोडे। उनले ६२ बलमा ८ चौका हिर्काए। मोहमद जीशनले ८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै नटआउट २० रन जोडे।

खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न उनले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।