त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ। प्रहरीको तथ्यांक अनुसार बिहीबारसम्म जाजरकोटमा २७ र रुकुम पश्चिममा पाँचजनाले ज्यान गुमाएका छन्। चिसो बढ्दै गएकाले यो सङ्ख्या बढ्न सक्ने सम्भावना छ।

कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा जाजरकोटका १०१ र रुकुम पश्चिमका ५३ जना छन् ।

भूकम्पले घर भत्काएपछि पीडित बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । सरकारले समयमै अस्थायी टहरा बनाउने रकम निकासा नदिँदा र अस्थायी टहराको डिजाइन नपठाउँदा उनीहरूको त्रिपालमुनिको बास लम्बिने भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्रिपालमुनि बसेका जाजरकोटको कुशे गाउँपालिकामा आठ, छेडागाड नगरपालिकामा ६, नलगाड नगरपालिकामा चार, जुनिचाँदे गाउँपालिकामा चार, भेरी नगरपालिकामा दुई र बारेकोट गाउँपालिकामा तीन जनाको ज्यान गएको छ।

यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा तीन जना, बाफिकोट गाउँपालिका र सानीभेरी नगरपालिकामा एक-एक जनाको चिसोले मृत्यु भएको हो। आजको नागरिक दैनिकमा समाचार छ।