एनएसएलमा आज धनगढी र इलाम तथा बुटवल लुम्बिनी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ। पहिलो खेल धनगढी एफसी र स्पोर्टिङ इलामबीच हुनेछ। यो खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ ।

अपराजित धनगढी ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ। धनगढीले दुई खेल जित्दा एक बराबरी खेलेको थियो। शीर्ष स्थानको ललितपुर सिटी भन्दा एकले पछि रहेको धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ।

ललितपुरले ४ खेल खेलिसकेको छ र ८ अंक जोडेको छ।

उता स्पोर्टिङ इलाम ४ खेलबाट ३ अंकसहित सातौं स्थानमा छ। इलामले यस सिजन सबैभन्दा धेरै ३ खेलमा हार बेहोरिसकेको छ। यदि धनगढीलाई हराउन सके इलाम शीर्ष चारमा पुग्नेछ।

अंक तालिकामा सुधार गर्ने अवसर

यस्तै आज हुने अर्को खेल बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच हुनेछ। यो खेल साँझ ५ बजे दशरथ रंगशालामै हुनेछ।

काठमाडौं र बुटवल दुवैलाई आजको खेल जितेर अंक तालिकामा सुधार गर्ने अवसर छ। अपराजित काठमाडौं ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ। बुटवललाई हराएमा काठमाडौंले लिग लिडर ललितपुरसँग समान ८ अंक जोड्नेछ ।

उता बुटवल ४ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । काठमाडौंलाई हराएमा बुटवलले पनि अंक तालिकामा सुधार गर्नेछ। बुटवलले चार मध्ये एक जित र एक बराबरीको नतिजा निकाल्दा दुई खेलमा हार बेहोरेको छ।