७४ किलो गाँजासहित ५ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। मकवानपुर र पाल्पाबाट ७४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन्। मकवापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषनकुमार र १५ वर्षीय किशोर रहेका छन्। डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब ४७ केजी गाँजासहित पक्राउ गरेको हो।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका–२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका–१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन्। बा १४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजी गाँजासहित पक्राउ गरेको हो।

यसैगरी पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ७ जोगदमारबाट पनि एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका–९ बस्ने २२ वर्षीय दिपक सुनार रहेका छन्।

उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले करिब १ केजी गाँजासहित पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ।