कर्मालयको दशौं संस्करण कृषि र खाद्य इन्जिनियरिङमा आधारित

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ। इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कर्मालयको दशौं संस्करणको बिहीबार परिचयात्मक सेसन भएको छ। यो पटकको संस्करणमा ‘कृषि र खाद्यमा इन्जिनियरहरू’ शिर्षक छनौट गरिएको कार्डका सचिब गगन सिंखडाले जानकारी दिए। परिचयात्मक सेसनमा सहभागी ४० विद्यार्थीहरुलाई कार्यक्रमको उद्देश्य, विषय, नियमहरुका बारेमा जानकारी दिइएको थियो।

चार हप्ता लामो अनुसन्धानमा आधारित ‘कर्मालय’ कार्यशालामा कलेजका विद्यार्थीसँगै बाहिरका विद्यार्थीले पनि आफुले हासिल गरेको ज्ञान र सीपमा आधारित भएर नयाँ सोच तथा योजनाहरु प्रस्तुत गर्नेछन्।

‘कृषि तथा खाद्य क्षेत्रमा खाद्य सुरक्षा, प्राविधिक विकास र सामुदायिक प्रभाव बढाउनको लागि नयाँ सोच र योजनाहरु तयार गर्न यसपटक हामीले कर्मालयको कार्यक्रम तयार पारेका छौं। कृषि र खाद्यलाई प्राविधिक क्षेत्रसँग जोड्ने टुलहरु प्रतियोगीहरुले प्रस्तुत गर्नुहुनेछ। कार्डका सचिब सिंखडाले भने।

१० औं कर्मालयमा १० वटा समुहले सहभागीता जनाउने छन्। प्रत्येक समुहमा दुईदेखि पाँच जना विद्यार्थीहरु रहनेछन्। प्रतियोगितामा भाग लिने समुहमा कम्तिमा एक जना नेकको विद्यार्थीको सहभागीता हुनु आवश्यक छ।

यसपटकको संस्करणलाई भब्य र प्रभावकारी बनाउन राष्ट्रिय आविश्कार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान परिषद्सँग सहकार्य गरिने सचिब सिंखडाले बताए।

विद्यार्थीहरुले प्रस्तुत गरेको नविनतम सोच र आइडियाहरुमा काम गर्नका लागि ती सोच र आइडियाहरु कसैसँग मेल नखावोस् भनेर राष्ट्रिय आविश्कार केन्द्र र कृषि अनुसन्धान परिषद्सँग सहकार्य गर्ने योजना बनाएका छौं।

प्रतियोगिताको फाइनल आगामी पुस मसान्तमा हुनेछ। फाइनलमा १० वटा समुहले आफ्नो प्रस्तुति दिनेछन्। विजयी प्रतियोगितालाई मेडल, प्रमाणपत्र ट्रफीसँगै नगद पुरस्कार दिइनेछ। नवौं संस्करणको विजेता प्याड भेन्डिङ मेसिन रहेको थियो।

सन् २००८ बाट सुरु भएको कर्मालयलाई नेपाल इन्जिनियरिङ कलेजले सहयोग गर्दै आइरहेको छ। यो पटक क्लबको १५ औं वार्षिकोत्सव समेत रहेकाले भब्यताका साथ कर्मालय सम्पन्न गर्ने क्लबको योजना रहेको छ।