साफ यू-१९ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल बंगलादेशसँग

फाइल तस्बिर 

काठमाडौं। साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ।

छैटौं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ (माघ १९-२५) बंगलादेशको ढाकामा हुनेछ।

जसमा नेपाल र साविक विजेता बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। गत वर्ष बंगलादेशमै भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो।

साफले जारी गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग खेल्देछ। यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी ४ मा भुटानसँग र तेस्रो खेल फेब्रुअरी ६ मा भारतसँग खेल्नेछ।

चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल भएपछि अंक तालिकामा शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्नेछन्।

फाइनल खेल फेब्रुअरी ८ मा हुनेछ।

प्रतियोगिताका सबै खेलहरु ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोस्ताफा कमल (बीएसएसएसएमके)स्टेडियममा हुनेछ।

यस प्रतियोगिताका लागि नेपाली टिम बनाउन अखिल नेपाल फुटबल संघ एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छान्ने घोषणा गरिसकेको छ।