पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं । पोखरा थन्डर्सलाई २-१ ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको फाइनलमा पुगेको छ।

दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको ३३ औं मिनेटमा निखिल कदम रातो कार्ड (दोहोरो पहेँलो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भए पनि ललितपुरले पोखरालाई अतिरिक्त समयमा हरायो।

पोखरालाई जिताउन ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए। ओमालाजा करिमले हानेको फ्रिकिकमा कप्तान अनन्त तामाङले बक्सका हेड गरेका थिए। त्यो बल पोखराका खेलाडीले भेटे पनि क्लियर गर्न सकेनन्। जसलाई ६ यार्ड बक्स भित्रै कुशलले भेट्टाए र बललाई जाली चुमाए।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो।खेलमा पहिलो अग्रता पनि ललितपुरले नै लिएको थियो। ४५ ‍औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए।

पापा इबोउ केबेले आफ्नै क्षेत्रबाट काउन्टर अट्याकमा लामो पास इमोहका लागि निकालेका थिए। इमोहले कन्ट्रोल गर्दै बक्ससम्म पुर्‍याएर हानेको बल गोल भएको थियो।

७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएको थियो। जोए आइडुको पासमा स्टेफेन पापा कोजो एनोरले बक्समा हेडमार्फत गोल गरेका थिए। एनोरको हेड मैदानमा ड्रप भएर सेकेण्ड बारमा लाग्दै गोल भएको थियो।

बिजेता ललितपुरले फाइनलमा शनिबार धनगढी एफसीसँग खेल्ने छ। धनगढी एफसी पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो। लिग चरणमा शीर्ष स्थानमा रहेको पोखराले फाइनल पुग्न दोस्रो असवर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन।

एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेता टोलीले २० लाख रुपैयाँ पाउने छ।