बरहथवामा युवकमाथि गोली चलाउने प्रहरी हवल्दार जिल्ला तानिए

जनकपुरधाम। सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन्। इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन्।

आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए।

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो। मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेव विक्रेता थिए।

आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ।

मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दाबी गरेको छ।