भारतीय गाडीमा नेपाली नम्बर प्लेट राखेर चलाँउने ७ जना पक्राउ

सांकेतिक तस्वीर

धनुषा । भारतीय गाडीमा नेपाली नम्बर प्लेट लगाएर चलाउँदै आएको ४ वटा गाडीसहित ७ जनालाई पक्राउ गरेको छ। भन्सार चोरी निकासीका गाडीहरू भारतबाट नेपालमा ल्याई नेपाली नम्बर प्लेट राखी नेपालमा चलाइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले ४ वटा गाडीसहित ७ जनालाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

गिरोहले भारतबाट गाडी भन्सार छलेर नेपाल भित्र्याउने र त्यसमा नक्कली नम्बर प्लेट राखेर बेच्ने गरे‍को पाएको हो ।पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ५० वर्षीय मोख्तार अन्सरी, लोहरपट्टी नगरपालिका९६ बस्ने ४० वर्षीय जमजम भनिने अन्सारुल कवारी, ३७ वर्षीय अजिम राईन र २८ वर्षीय मोबारक अलि छन्।

त्यस्तै मनरा शिसवा नगरपालिका–६ बस्ने ३२ वर्षीय रोशनकुमार ठाकुर, जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धी बस्ने अविद नदाफ र धनुषाधाम नगरपालिका–६ बस्ने २८ वर्षीय पंकज शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।अनुसन्धानको क्रममा भन्सार छलेर ल्याइएका चार वटा गाडी पनि बरामद गरेको छ। जसमा नेपाली नम्बर प्लेट राखिसकेको छ।

ती गाडीमा प्रदेश–२–०३–००१ च. ११४०, प्रदेश–२–०३–००१ च.०११०, प्रदेश–२–०३–००१ च. ५४८७ र प्रदेश–२–०३–००१ च. ३७३९ नम्बर राखिएको छ।

यी नम्बरहरूका गाडीहरू यातायात व्यवस्था कार्यालय जनकपुर र यातायात व्यवस्था कार्यालय वीरगञ्जमा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं‌ एसपी मित्रबन्धु शर्माले जानकारी दिए।

अनुसन्धानका लागि नियन्त्रणमा लिइएका गाडीहरु चोरीको तथा भन्सार छलीको रहेको र उक्त गाडी देखाई नक्कली सवारी धनी किताब बनाई बिक्री गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।