आइसिसी यू-१९ विश्वकप: पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं। आइसिसी यू-१९ विश्वकप २०२४ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाललाई पाकिस्तानले ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७-३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे। तर दुवैलाई नेपालका आकास चन्दले २२ ओभरमा तीन बलको अन्तरमा आउट गरेका थिए।

त्यसपछि अराफत मिनहासलाई फेरि आकासले नै ८ रनमा आउट गरे। कप्तान शाद बाइग शून्यमा आउट भए। उनलाई नेपालका आकास त्रिपाठीले आउट गरे।

अमहद हसन २९ रनमा दिपेश कँडेलको बलमा विकेटकिपर विपिन रावलबाट समातिए। तर अजन अवाइस र हरुन अर्शदले नटआउट ३३ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित दिलाए।

 अजनले नटआउट ६३ रन र हरुनले नटआउट १५ रन जोडेपछि पाकिस्तानले जित निकाल्यो।बलिङमा नेपालका आकास चन्दले ३ विकेट लिए। उनले ९ ओभरमा ३४ रन खर्चिए। दिपेश कँडेल र आकास त्रिपाठीले १-१ विकेट लिन सफल भए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट हुनुअघि १९७ रन जोड्यो। नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ रन बनाए।

लगातार विकेट गुमाएको नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए।

अर्जुन आउट भएको दुई ओभरपछि आकास त्रिपाठी पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए। कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए। उनले ओपनिङ ब्याटर विपिनसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे।

उत्तम मगरले पनि ४ रनभन्दा बढी जोड्न सकेनन्। ओपनिङ ब्याटर विपिन पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका थिए।

गुलसन झा आज पनि चल्न सकेनन्। झाले १८ रन मात्र बनाउन सके। यस्तै दिपेश कँडेल १३ रन र दीपक डुम्रे २६ रनमा आउट भए। अन्तिम एक बल बाँकी छदा आउट भएका सुवास भण्डारीले २४ बलमा २० रन जोडे। आकास चन्दले ११ बलमा नटआउट १६ रन जोडे।

बलिङमा पाकिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २-२ विकेट लिन सफल भए।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो भने पाकिस्तानको दोस्रो जित हो। पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

अब नेपालले शुक्रबार समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ। सो खेलमा जित निकाले नेपाल सुपर ६ मा पुग्नेछ। सुपर ६ मा ए र बी गरी १२ टिमले छुट्टा छुट्टै समूहमा प्रतिस्पर्धा गर्नेछन्।