वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न

चितवन। भ्रष्टाचार विरुद्धको अभियान चितवन नेपालको समन्वय तथा सहजीकरणमा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्य सम्पादन तथा सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम अस्पतालको अडिटोरियम हलमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले गरेका थिए। कार्यक्रममा अतिथिहरु सञ्चालक समिति सदस्य डा कृष्णसागर शर्मा, डा.भावना वाग्ले,उप निर्देशक डा उमेश नेपाल, टेकबहादुर थापा लगायत थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले अस्पतालको यस सोसल अडिट कार्यक्रममा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गरे।

कार्यक्रममा अस्पतालका तर्फबाट प्रतिवेदन पेश गर्दै कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालको सेवा प्रवाहको स्तरोन्नति तथा गुणस्तरीय सेवाका साथै कर्मचारी उत्प्रेरणा कार्यक्रमका बारे मन्तव्य व्यक्त गर्दै बिरामीको सुझाव पेटिकामा प्राप्त सुझावलाई मध्यनजर गर्दै शल्यक्रिया सेवा, रेडियोथेरापी सेवा, प्याथोलोजीको रिपोर्टिङ सेवा प्रवाहको सहज सुनिश्चिततातर्फ अस्पताल अघि बढको बताए।

विभिन्न सेवा अन्तर्गत नेपाल सरकारका सार्वजनिक खरिद ऐन बमोजिम फार्मेसीमा हालै औषधिहरू उपलब्ध गराएको बताए। बिरामी लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न स्क्यान रिडर मेशिन मार्फत रगतको रिपोर्ट सहज उपलब्धता गराइएको बताए।

निरन्तर जनताको सेवक बनेर काम गर्ने बताउदैं सम्पूर्ण सरोकारवाला निकायहरुको सहयोगमा अस्पताललाई अपडेट गर्दै अपग्रेड गर्न प्रयास भइरहेको बताए।

उनले कार्यक्रममा उपस्थित पत्रकार जगत, जनसमुदाय सबै सबैमा हार्दिक धन्यवादसहित आभार प्रकट गरे। सहजीकरण संस्था भ्रष्टाचार विरुद्धको अभियान चितवन नेपालको कोषाध्यक्ष रिता कडेलले १०० जना बिरामीलाई प्रश्नावली मार्फत गरिएको सर्वेक्षणमा प्राप्त सुझावलाई समेटेर मन्तव्य व्यक्त गरे।

सहभागी सरोकारवाला जनताको प्रश्नको जवाफमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा शिवजी पौडेलले आगामी दिनहरुमा सुधारका अनवरत साधनासहित प्रयास जारी राख्दै सेवा प्रवाहको स्तरोन्नति गर्नेमा ढुक्क रहन बिरामी र बिरामीका आफन्त सरोकारवाला सबैलाई विश्वस्त रहन आग्रह गरे।

कार्यक्रममा अस्पतालका बिरामी, बिरामीका आफन्तजन छिमेकी समाज, स्थानीय भरतपुर महानगर २९ वडाका जनताको प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।