काठमाडौंमा आज यस वर्षकै बढी जाडो

काठमाडौं । काठमाडौं उपत्यकामा यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।

‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ। यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो,जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने ।

गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ।

तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ। पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ। ‘धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ,’ मौसमविद झाले भने । पश्चिम तराईका जिल्लामा पारदर्शिता ५० देखि १०० मिटरसम्म रहेको उनले बताए।

यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको मौसमविद झाले बताए।

बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ। तर शीतलहरको घोषणा भने जल मौसम विज्ञान विभागले गरिसकेको छैन।

‘शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको देखिएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहेका छौं,’ मौसमविद झाले भने।