राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

काठमाडौं । सङ्घीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने गयारी गरेको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पदावधि सकिएलगत्तै राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने तय भएको जानकारी दिए।

माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन्। एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि नेकपा माओवादी केन्द्र सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ।

कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ भने सबैभन्दा बढी सदस्य रहेको नेकपा एमाले १० सदस्यसहित तेस्रो स्थानमा खुम्चिएको छ। सचिवालयले प्रकाशित गरेको कार्यसूचीबमोजिम फागुन २७ गते रष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गरिने छ।