सांसदहरु व्यक्तिगत स्वार्थमै रमाउने,देशचाँहि कसले बनाउने ?

निजी कायालयमा काम गर्ने कर्मचारीलाई समस्या समस्यै छ । पाँच मीनेट मात्र ढिलो भयो भने साहु रिसाउँछन्। तलब पनि काटिन्छ। त्यही ठाउँमा सरकारी कर्मचारी र जनप्रतिनिधिलाई कति आनन्द छ। जनताबाट चुनिएर आएका सांसदले १४ महिनामा के गरे ?

मासिक लाखौं रुपैयाँ तलबभत्ता बुझे तर प्रगति शून्य ? सांसदहरुलाई तलबभत्ता लिन लाज पनि नलाग्दो रहेछ । निर्वाचित भएर आएको वर्षदिन कटिसक्दासमेत एउटा मात्र विधेयक पारित भएको छ। त्यो हो, मीटरब्याजविरुद्धको विधेयक । सांसदको नाममा राज्यको ढुकुटी दोहन गर्ने काम मात्र भएको छ।

उपचार खर्च, सरकारी गाडी, घरभाडा सबै सरकारले दिँदै आएको छ। यता, उनीहरुको देशविदेश सयरको खर्चसमेत राज्यले उठाउनुपरेको छ। सांसदहरु व्यक्तिगत स्वार्थ पूर्तिमै दौडिएका छन्, जनताको काम त्यसै। यो अवधिमा कोही सांसद बचतकर्तालाई बिल्लीबाठ बनाएको सहकारीको साधारण सभामा देखिए।

उनीहरु त्यहाँ विशेष अतिथि बनेका थिए। कुनै सांसद एवं मन्त्रीचाँहि ट्याक्सीको कार्यक्रममा अतिथि बनेको पनि देखियो। सिण्डिकेटधारी यातायात व्यवसायी जसले एकाधिकार जमाएर सर्वसाधारणलाई दुःख दिइरहेका छन्, बाटो कब्जा गरेका छन्, तिनकै कार्यक्रममा मन्त्री अतिथि बनेर पुगेका थिए।

सेवा दिने नाममा संघसंस्था खोल्ने, जनताको पैसा खाइदिने, ठग्ने, राज्यलाई राजस्व छल्ने, सिण्डिकेट लगाउनेको कार्यक्रममा जानुहुँदैन् भन्ने चेतना सांसद एवं मन्त्रीहरुसँग छैन् । वास्तवमा भन्ने हो भने, उनीहरुसँग सोच्नलाई दिमाग नै छैन् । जनताको काम गर्न छोडेर व्यवसायी आवरण ओढेर बसेका ‘ठग’ हरुको कार्यक्रममा जाँदा उनीहरुलाई अलिकति पनि हीनताबोध भएन् ?

सांसद र मन्त्रीले आफ्नो समय जनताको काममा लगाउनुपर्ने हो । उनीहरुलाई एनजिओ, सहकारी, यातायातसम्बद्ध संघसंगठनको कार्यक्रम उद्घाटन गर्न वा अतिथि बन्न त जनताले चुनेर पठाएका होइनन् । तर, लाज पचाएरै लाइन लागेरै सांसद र मन्त्रीहरु यस्ता संघसंगठनको कार्यक्रममा पुगेको देखिन्छ ।

अतिथि बन्नका लागि सांसद र मन्त्रीहरुबीच होड चल्ने गरेको छ । २०७९ मंसिर ४ गते निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाको चुनाव गराउँदा जनताले तिरेको खर्बौं रुपैयाँ खर्च भएको छ । दुई घण्टा लामो बाटो हिँडेर, दिनभर लाइनमा बसेर जनताले आफ्नो प्रतिनिधि चुनेर पठाए।

तर, ती प्रतिनिधि व्यक्तिगत स्वार्थमै रमाउँदा जनता निराश भएका छन् । जनताले तिरेको कर र उनीहरुको दुःख त ‘वालुवामा पानी’ भएको छ। जनताले घामपानी नभनिकन खुट्टा दुखाईदुखाई मतदान गर्नुपछाडि त्यति ठूलो कुनै आश राखेका छैनन् । बस् आफ्नो क्षेत्रमा विकास गरिदेलान् र ऐनकानुन बनाउलान् भन्ने मात्र हो।

तर, अहिले आएर जनतालाई बेकार मतदान गर्न गएछुजस्तो अनुभव भएको छ । न विकास छ न ऐनकानुन नै बन्छ । राज्यको ढुकुटी सोत्तर पार्नेबाहेक कुनै प्रगति हुन सकेको छैन्। चुनावअघि भोट माग्दै घरदैलोमा पुगेका जनप्रतिनिधिहरु अहिले फर्किएर जाँदैनन् । आफ्नो क्षेत्रको जनताको अवस्था के छ, तिनलाई मतलब छैन् ।

मतलब छ त कार्यक्रममा अतिथि बन्न पाइन्छ कि पाइँदैन् ? विदेश भ्रमणमा जान पाइन्छ कि पाइँदैन् ? ठेक्कापट्टाबाट कमिशन खान पाइन्छ कि पाइँदैन् ? राज्यबाट बढीबढी सेवासुविधा लिन पाइन्छ कि पाइँदैन् ? जनता मरुन् कि बाँचुन् तिनलाई चासो छैन्। जनप्रतिनिधिप्रति सर्वसाधारणको गुनासो मात्र छ।

सांसदहरु एकपछि अर्को गदै विभिन्न आरोपमा मुछिरहेका छन्। नमुछिन् पनि किन ? दलालीले संसद भरिएको छ। घरजग्गा दलाली, सेयर दलाली, मेडिकल क्षेत्रका माफिया, सहकारी क्षेत्रका दलाली, यातायात दलाली, निर्माण क्षेत्रका दलालीलगायतले संसद भरिपूर्ण छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी काण्डमा मुछिएका छन्। यता,नेपाली कांग्रेसबाट सांसद बनेका डलर अर्वपति एवं विवादास्पद व्यवसायी विनोद चौधरीमाथि सरकारी जग्गा हिनामिनाको आरोप लागिसकेको छ। राज्यलाई तिर्नुपर्ने करसमेत छली गरेको आरोप चौधरी ग्रुपमाथि लाग्दै आएको छ।

देश बनाउन होइन्, आफ्नो काण्ड लुकाउन सांसद बनेको त प्रष्टै भएको छ। संसद चलेपनि अवस्था त्यही नै छ। जतिबेला पनि जुहारी चलिरहेको हुन्छ। एउटा पार्टीले अर्कोमाथि हिलो छ्याप्नेबाहेक केही उपलब्धि हासिल हुन सकेको छैन्। कानुन बनाउन सदनमा पुगेकाहरु जनताको विषयमा बोल्दैनन्, हाम्रो पार्टी यस्तोउस्तो भन्दै गुनगान गाएर निस्किन्छन्।

अधिकांश समय संसद ‘चिडियाखाना’ जस्तो देखिन्छ। सत्तापक्ष होस् या विपक्ष, कोही पनि जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैनन्। देश र जनताका लागि उनीहरुले कहिले पनि गम्भीर भएर बोलेनन्। सहकारीले बचतकर्तालाई धुरुधुरु रुवाएको छ। लाखौं बचतकर्ताको खर्बौं रुपैयाँ सहकारी सञ्चालकले खाइदिए।

बचतकर्ताहरुको ‘बिल्लीबाठ’ भएको छ। तर, सांसदहरु यसविषयमा चुइक्क बोल्दैनन्। आफ्नो जिन्दगीभरको कमाइ डुबेको तनाव सहन नसकेर कतिपयले आत्महत्याको बाटो रोजेका छन्। कतिपय डिप्रेशनमा गएका छन्। सहकारी काण्डमा जोडिएको सांसद पनि सदनमै छन्।

तर, यो विषयमा अन्य सांसदको मुख खोल्दैन्। देशमा आर्थिक मन्दी छ। सटरहरु धमाधम खाली भइरहेका छन्। कोठा छोडेर सर्वसाधारण आफ्नै गाउँघर फर्किएका छन्। घरजग्गा, सेयर, गाडीको कारोबारमा पूरै मन्दी आएको छ। सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि समस्या भएको छ।

रोजगारीका लागि देश छोड्नेको लर्को लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको आँशुको धारा बगिरहेको छ। विमानस्थलमा दिनहुँ खाडी छिर्नेको भीड देखिन्छ। स्वदेशमै केही गर्छु भन्नेहरु पनि अहिले निराश छन्। काम गरेको ठाउँबाट तलब पाइरहेका छैनन्, कामदारले।

मँहगीले जनताको ढाड सेकिएको छ। बाटोमा माग्नेहरु छ्याप्छ्याप्ती देखिन्छ। तर, सांसदहरुलाई कुनै मतलब छैन्। जनता कुन समस्याबाट जुधिरहेका छन्, तिनलाई चासो छैन्। नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स र देश धितो राखेर लिएको ऋणबाट तलबभत्ता खानेहरुलाई जनताको के मतलब ?

उनीहरुलाई बस् आफ्नो धोक्रो भर्न पाए हुन्छ। सर्वसाधारणलाई बिहान खाए बेलुका के खाऊँ भन्ने चिन्ता छ। तर, सांसदहरुलाई त्यत्रो सेवासुविधा दिँदा पनि पुगेको छैन्। कतिपय सांसद मुख खोलेरै यतिजाबो तलबभत्ताले के हुन्छ, भन्छन् ? काम नै नगरी बसिबसि त्यत्रो तलबभत्ता र सेवासुविधा पाएका छन्।

तैपनि, उनीहरुलाई थप माग्न लाज लाग्दैन्। देशको अर्थतन्त्र समस्यामा छ भन्ने कुरा भुरादेखि बुढासम्मलाई थाहा छ। आम्दानीभन्दा खर्च धेरै रहेको र सरकारले ऋण लिएको धानिरहेको विषयहरु पछिल्लो समय व्यापक बाहिर आइरहेको छ। यद्यपि, यो विषयमा सांसदहरु मौन छ।

उनीहरुलाई देश बेचेर भएपनि तलबभत्ता र सेवासुविधा जो चाहिएको छ अनि किन बोल्थें ? जनताले खर्च कटौती गर्नुपर्ने माग राख्दै आएका छन्। तर, सांसदहरु चाँहि थाहा पाएर पनि नपाएझैं गर्छन्। जनताले तिरेको करले सरकारको खर्च धानिँदैन् अनि विकास कसरी हुन्छ ? यो गर्छु, त्यो गर्छु भन्नेहरुले यसको जवाफ दिन सक्छन् ?

देशले फड्को मार्न त अर्थतन्त्र बलियो हुनुपर्यो। अर्थतन्त्रचाँहि घिटिघिटिको अवस्थामा छ। जनतालाई भ्रममा राख्ने अनि आफू खाइरहनेतिर मात्र सांसदहरु केन्द्रित छन्। जनताले यिनीहरुबाट केही अपेक्षा नराखेपनि हुन्छ। कुनै पनि सांसदसँग आफ्नो धारणा राख्ने हिम्मत छैन्।

पार्टीले जे जे भनेको छ, त्यही त्यही सुनाउँछन्। त्योबाहेक उनीहरुले एक शब्द बढी बोल्दैनन्। फेरि भोलि टिकट जो चाहिएको छ। पार्टीका झोलेहरुले देश बनाउने भाषण ठोक्छन्। जुन आफैंमा हास्यास्पद छ। वर्तमान सदनले नेपाललाई स्वरुप दिने होइन्, नेपाललाई सकाउनेचाँहि प्रष्टै छ।