नेपाल ए ले आज क्यानडा-११ सँग खेल्दै

काठमाडौं । नेपाल ए ले तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत आज क्यानडा-११ सँग खेल्नेछ। दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो। नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्लिनस्वीपको हार व्यहोरेको थियो।

नेपाल ए र क्यानडा ११ बीचको पहिलो खेल आज बिहान ९:३० मा माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपाल ए को कप्तानी विनोद भण्डारीले गर्नेछन्। प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल ए मा छन्।

नेपालको पहिलो रोजाइको टोलीमा पर्न यो राम्रो अवसर हो । नेपाल ए मा राम्रो प्रदर्शन गर्ने खेलाडी सिनियर टोलीमा पर्नेछन् । सिनियर टोलीको ब्याकअप हो । पहिलो पटक आधिकारिक रुपमा नेपाल ए टोली बनेको पनि हो ।

क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जि.सी तीव्र गतिका बलर छन् ।

सिनियर टोलीमा पर्न यहाँ यी तीन जनाबीच कडा प्रतिस्पर्धा हुनेछ। नेपालका टी-२० विशेष खेलाडी सन्दीप जोरा र विवेक यादव पनि छन्। शेर मल्ल,सागर ढकाल र बसिर अहमद स्पिनरको रुपमा छन्।

यू-१९ क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका अर्जुन कुमाल, प्रधानमन्त्री कपमा राम्रो प्रभाव छाडेका मयन यादव,आशुतोष घिरैया र सुजन थपरिया जस्ता ब्याटरको लागि पनि यो अवसर हुनेछ ।

मुलपानीमा स्पिनर साद बिन जफर हाबी हुन सक्छन्। निकोलस किर्तोन, आरोन जोनसन र परगत सिंह प्रमुख ब्याटर हुन्।

नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र क्लाम अली रहनेछन्। दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।