श्रम मन्त्रालयको पुनर्संरचना सुरु:आन्तरिक रोजगारी प्रवर्धनमा छैन रुचि

काठमाडौं। वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन अक्षम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पुनर्संरचना सुरु भएको छ। वैदेशिकका साथै आन्तरिक रोजगारी प्रवर्धन पनि यो मन्त्रालयको जिम्मेवारी हो।

अहिलेसम्म वैदेशिक रोजगारीमा जति सक्दो नेपाली युवालाई पठाउने योजना बुने पनि श्रम मन्त्रालयले आन्तरिक रोजगारी प्रवर्धनतर्फ खासै रुचि देखाएको छैन ।

आन्तरिक रोजगारी प्रवर्धनतर्फ सक्रिय रूपमा काम गर्ने गरी मन्त्रालयको पुनर्संरचनाको काम थालिएको हो।

वैदेशिक रोजगारीसँग सम्बन्धित थुप्रै काम श्रम मन्त्रालयले गरे पनि आन्तरिकतर्फ भने उल्लेखनीय रूपमा काम गर्न नसकिएको मन्त्रालयका अधिकृतहरू स्वीकार गर्छन् ।

मन्त्रालयका उपसचिव तथा मन्त्रालय पुनर्संरचना समितिका सदस्य सचिव दीपक ढकालका अनुसार आन्तरिक रोजगारी प्रवर्धनका लागि ‘आन्तरिक रोजगारी प्रवर्धन महाशाखा थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने तयारी भएको छ।

पुनर्संरचनाका लागि मन्त्रिपरिषद्बाट पूर्वस्वीकृति लिएर काम अघि बढिसकेको छ । कार्ययोजना तय भइसकेपछि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद् मा प्रस्ताव गरिनेछ,उनले भने।

आन्तरिक रोजगार प्रवर्धन महाशाखाले प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत आन्तरिकतर्फका कार्यक्रम हेर्ने गरी कार्ययोजना तयार गरिएको उनले बताए । यो समाचार आजको नागरिको दैनिकमा छ।