आफ्नै सरकारप्रति प्रधानमन्त्री असन्तुष्टि,असफलता ढाक्न अरूलाई दोष

फाइल तस्वीर

काठमाडौं । प्रतिनिधिसभामा ३२ सिट पाएको संसद्को तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको आठदलीय गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो असफलता ढाक्न विभागीय मन्त्री र सचिवमाथि दोष थुपार्न थालेका छन्।

आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको सातमहिने समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्ड स्वयम्ले आफ्नो नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सरकारले लक्ष्यअनुसार परिणाम दिन नसकेको प्रतिपक्षीको आलोचना स्वीकार्दै उनले बैठकमा भने – ‘जोवन धान्ने र काल पर्खिने खालको सरकार हुनुहुन्न।

सरकारले निर्णय लिन र कार्यान्वयन गर्नका लागि धेरै बाधा र अफ्ठ्याराको सामना गर्नुपरेको जिकिर गर्दै उनले भने – ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ संकल्पको साथ यो क्याबिनेटले जसरी काम गर्नुपर्छ भनेर जोडतोडले उत्साहको साथ अगाडि बढेका थियौं।

एक वर्षसम्म मोटामोटी ढंगले हामी ठीकठीकै ढंगबाट जान्छौं भन्ने नै थियो । तर, अहिले यो समीक्षासम्म आउँदा मेरो बेचैनी बढेको छ।

काल पर्खिने खालको सरकार त हुन हुँदैन हाम्रो। जनतालाई सेवा र विकास निर्माणको दृष्टिले पनि नयाँ गरेर परिणाम देखाउँछौं भन्ने प्रतिबद्धता र संकल्पले अघि बढेको हो। तर, यहाँ आउँदाचाहिँ परिणाम त्यस्तो भइरहेको छैन।

मन्त्रीज्यूदेखि मुख्यसचिव र सचिवहरूको पनि दिमागमा बेचैनी बढेको जस्तो देखेको छु । परिस्थिति जटिल र चुनौतीपूर्ण छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ले राजनीतिक र प्रशासनिक नेतृत्वहरुमा निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको भन्दै उहाँले राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्ने गरी नकारात्मक काम भइरहेको टिप्पणी गरे। केही महिनाअघि पनि उनले कर्मचारीको कामप्रति असन्तुष्टि जनाएका थिए।

आफ्नै मन्त्री र कर्मचारीको कामप्रति बेलाबेला असन्तुष्टि पोख्दै आएका प्रधानमन्त्री प्रचण्डले मुलुकको प्रशासन सुधार, विकास निर्माण र सुशासनका लागि काम नगर्ने पदाधिकारी तथा कर्मचारीलाई कारबाही गर्न सकेका छैन। नेपाल समाचारपत्रबाट