पूर्वउपराष्ट्रपति पुनका छोरा पक्राउ,पूर्वसभामुख महरामाथि कारबाही के हुन्छ?

काठमाडौं। सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश शुक्रबार साँझ पक्राउ परेका छन् भने उपराष्ट्रपतिका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध १ सय ३८ केजी सुन तस्करी प्रकरणमा मुद्दा दायर भएको छ।

तर योभन्दा उच्चस्तरबाट सुन तस्करलाई संरक्षण गर्ने पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि के कारबाही हुन्छ भन्ने प्रश्न आकर्षित भएको छ ।

जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए। बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन्।

उनी माओवादी केन्द्रका विशेष प्रदेश कमिटीका सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव हुन् । पुनका अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमा रहेको पाइएको छ।

दीपेशलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनलाई खासगरी सहकारीको बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तर सुन तस्करीमा समेत अनुसन्धान गर्ने बताइएको छ । चिनियाँ सुन तस्करसँग संलग्नता देखिए पनि पुनले यसअघि प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाएका थिए ।

यता, आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि महरामाथि मुद्दा दर्ता त भएको थिएन ।

जबकि महरा बाबुछोराले चिनियाँ सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको कलडिटेल रेकर्ड प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।

इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ।

सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ जसलाई सुन जाँचबुझ आयोगले पनि प्रमाण मानेको छ।

प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अर्कोतर्फ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

विमानस्थल भन्सार कार्यालयका अनुसार १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो जरिवाना र ५ वर्ष कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको हो।

भन्सारले गरेको छानबिन र अनुसन्धानमा भरियाले विमानस्थल हुँदै दुबईलगायत देशबाट तस्करी गरेर ल्याएको सुन गुरुङले बुझिलिने गरेको पाइएको थियो। उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन्।

मंसिर २१ मा १४ किलो सुनसहित विमानस्थलबाट गोरखाका चन्द्र घले पक्राउ परेपछि उक्त सुन ल्याउने ‘योजनाकार’ गुरुङ भएको खुलेको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत फागुन १४ मा पक्राउ गरेको थियो।

पक्राउपछि विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन र अनुसन्धानमा भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिएर व्यवस्थापन गरेको खुल्न आएको हो।

उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। मुद्दा दायर भएकामध्ये ७ जना पुर्पक्षका लागि थुनामा छन् भने २ जना फरार छन्।

गुरुङसहित १० अभियुक्तलाई समान कसुरमा मुद्दा दायर गरिएको भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जनाए । उनी भन्सार विभागले गठन गरेको सुन तस्करीसम्बन्धी छानबिन समितिका संयोजकसमेत हुन्।

भरियाले ल्याएको सुन गोरखाका मीन घले हुँदै गुरुङसम्म पुग्ने गरेको अनुसन्धानमा सहभागी भन्सारका एक अधिकारीले बताए। घले समूहले सन् २०१४ देखि नै सुन तस्करी गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानबिनमा क्रममा खुलेको थियो । तस्करहरूले ल्याएको सुन विमानस्थलको शौचालयभित्र लुकाएर राख्ने गरेको तथ्य फेला परेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको मिलेमतोमा सुरक्षा चेकजाँच छलेर ‘चोरबाटो’ हुँदै बाहिर निकाल्ने गरिएको पाइएको थियो। ‘भरियाले ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेपछि पहिले मीन घलेले बुझ्थे। त्यसपछि जीवन गुरुङले भएको ठाउँसम्म पुर्‍याएर उनैको जिम्मा लगाउने गरेको प्रमाणहरू भेटिएको छ,ती अधिकारीले भने।

उक्त प्रकरणमा मीन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ,अनिल श्रेष्ठ र रमेश देउला पुर्पक्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार छन्।

उनीहरू श्रीमान्–श्रीमती हुन्। उनीहरूलाई पनि जीवनकुमार गुरुङले परिचालन गर्ने गरेको भन्सार कार्यालयले जनाएको छ। २०७२ कात्तिकदेखि २०७९ चैत ६ सम्म दुई कार्यकाल गरी करिब ७ वर्ष पुन उपराष्ट्रपति थिए।

जतिबेला गुरुङ उपराष्ट्रपति पुनका सचिवालय टिममा थिए । उपराष्ट्रपतिको टिममा रहँदादेखि नै गुरुङले तस्करी गरेर ल्याएको सुन बुझिलिने गरेको भन्सारका अनुसन्धान अधिकृतहरूले जनाए।

उनले नै भरियाले नेपाल ल्याएको सुन भारतीय बजारसम्म पुर्‍याउने गरेको खुलेको छ। उनीविरुद्ध पुस पहिलो साता पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएपछि पर्वत स्थायी घर भएका उनी फरार थिए । एक वर्ष (२०७९ मंसिरदेखि २०८० मंसिरसम्म) मा मात्र कृष्णकुमारले १४ किलोका दरले ७ पटक, मीनले १४ किलो र चन्द्रले ४,८ र १४ किलोसहित १ सय ३८ किलो सुन विमानस्थल हुँदै बाहिर निकालेको स्वीकार गरेका छन् ।

चलाउनेलाई जोगाउने को  

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लगेको छ। सुन तस्करीका विचौलिया जीवन चलाउनेको निकट सम्बन्ध पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित केही राजनीतिक दलका प्रभावशाली नेताहरूसँग देखिएको भन्दै थप अनुसन्धान गर्नुपर्ने देखिएको छ।

हालसम्म सार्वजनिक भएका र आयोगको प्रतिवेदनमा उल्लेख भएका प्रमाणहरूअनुसार चलाउने र खनालको सम्बन्ध स्थापित देखिन्छ।

सुन तस्करी प्रकरणमा खनालका व्यावसायिक साझेदार सुबुप्रताप केसीलाई ३० हजार अमेरिकी डलर चलाउनेले दिएको प्रतिक्रिया दिएका छन्। विदेशमा रहेका बेला डिजिटल माध्यमबाट चलाउनेले आयोगलाई दिएको बयानमा उल्लेख छ। उनले चिनियाँ सुन तस्करीका नाइके दावा छिरिङको साथीमार्फत खनाललाई रकम दिएको बयान दिएका छन्।

‘केसी र दावाका एक जना साथीबीच लेनदेन भएको म्यासेज छ । तर, पुष्टि गर्न खनाल र उक्त साथीको बैंकिङ कारोबार हेर्नुपर्ने हुन्छ,’ त्यसैका लागि खनाललाई थप अनुसन्धानको आवश्यकता छ। तर आयोगले केसी र खनालबीच सोझै सम्बन्ध स्थापित गर्न नसकेको भन्दै प्रतिवेदनमा भने खनालको नाम उल्लेख गरेको छैन।

तस्करीमा चलाउने मुछिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको थियो । तर सोधपुछका लागि सीआईबीमा उपस्थित हुँदाको सीसीटीभी फुटेजसमेत गायब पारेको शंका आयोगले गरेको छ ।

जुन विवरण गृह तथा सीआईबीले उपलब्ध नगराएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । अनुसन्धानमा लापरबाही गरे पनि चलाउने फरार भए, सीआईबीले अनुसन्धान गरेको विषय उल्लेख नै नगरी सरकारी वकिलको कार्यालयमा फरार सूचीमा राखी प्रतिवेदन पेस गरेको थियो।

सीआईबीका तत्कालीन एसपी थापाको कार्यकक्षमा बयान कागज गरेर चलाउनेलाई छाडिएको र उक्त कागजसमेत पछि च्यातिएको प्रतिवेदनमा उल्लेख छ। चलाउने बयान दिन जाँदाको सीसीटीभी फुटेज डिलिट गरिएको छ। बयान कागज च्यातिएको र उनलाई भाग्ने मौका दिएको देखिन्छ,’ आयोगका एक सदस्यले भने ।

तर आयोगसमक्ष चलाउनेले दिएको बयानमा आफू ४ घण्टा सीआईबीमा उपस्थित भएको उल्लेख गरेका छन्।एसपी थापाले बयान लिई सो बयानमा सहीछाप गराएका थिएँ,चलाउनेले आयोगलाई दिएको बयानमा भनेका छन् । तर चलाउनेले खनालको नाम भने बयानमा दिएका छैनन् ।

त्यसकारण चलाउनेलाई कसले चलाइरहेको छ रु भन्ने अनुसन्धान त्यहींबाट सुरु हुनुपर्छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘त्यो अनुसन्धान खनालदेखि अन्य उच्च अधिकारीहरूसमक्ष पुग्नुपर्छ।

पुग्छ कि पुग्दैन वर्तमान गृहमन्त्री, प्रहरी प्रमुख, सीआईबी प्रमुखको परीक्षाको विषय हो।चलाउने र खनालबीचको सम्बन्ध स्थापित गर्ने अर्को आधार पनि आयोगले देखाइदिएको छ। खनालका साथी सुबु केसी पनि सुन तस्करीको प्रकरणमा जोडिएका छन्।

केसीलाई मुद्दा चलाउनुपर्ने सुझाव आयोगले दिएको छ । सुन तस्करीका मुख्य नाइके दावा छिरिङले २० हजार अमेरिकी डलर केसीलाई दिएको विवरण आयोगले फेला पारेको छ। पुर्पक्षका लागि थुनामा रहेका दावाको मोबाइलमा उपलब्ध विवरणअनुसार २० हजार अमेरिकी डलर केसीले दावालाई दिएका छन्।

सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न थालेको र अनुसन्धान पुग्नुपर्ने ठाउँमै पुग्ने गरी गहिरोसँग गरिने गृहमन्त्री लामिछानेले बताए ।

आयोगले दोषी किटान गरेकामध्ये दीपेश पुनलाई प्रक्राउ गरिसकेका छौं । एआईजीको जिम्मेवारी हेरफेर गरिएको छ । अनुसन्धानमा लापरबाही गर्ने सीआईबी ३ अधिकृतलाई पनि प्रहरी हेडक्वार्टर तानिएको छ। अब बाँकी व्यक्तिको सम्बन्धित निकायबाटै अनुसन्धान हुन्छ । प्रतिवेदनले किटान गरेका कसैले पनि उन्मुक्ति पाउने छैनन्,’ उनले भने ।

छानबिन र अनुसन्धानबाट उन्मुक्ति पाएका पूर्वआईजीपीद्वय खनाल र धीरजप्रताप सिंहलाई कसरी कानुनी दायरामा ल्याउन सक्छ भन्ने विषयमा गृह मन्त्रालयमा समेत छलफल सुरु भएको एक अधिकारीले बताए।

पूर्वप्रहरी महानिरीक्षक सिंहलाई निगरानीमा राख्नु भनेर आयोगले सिफारिस गरेको छ । उनले चिनियाँ सुन तस्कर दावासँग रकम नै लिएको मेसेज भएकाले सिंहमाथि निगरानी गर्नु र अनुसन्धान गर्नु कुनै ठूलो विषय भएन। तर चलाउनेभन्दा माथिल्लो तहको सम्बन्ध स्थापित गर्ने विषय चुनौतीपूर्ण देखिन्छ,गृहका एक अधिकारीले भने ।

गृह प्रशासनले चुनौती देखे पनि २०७६ सालदेखि नै खनाल र चिनियाँ तस्करहरूबीच उठबस भएको देखिन्छ । खनाल र चिनियाँ तस्कर दावाका साझेदारहरूबीच उठबस रहेको विवरण यसअघि पनि सार्वजनिक भइसकेका छन् ।

उनको सम्बन्ध सुन तस्करीमा फरार अभियुक्त अमला रोका र काठमाडौंको एक होटल सञ्चालक श्रेष्ठसँग रहेको थियो । सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा छिरिङ र रोका श्रीमान्, श्रीमती हुन् ।

महँगा मोबाइल, ल्यापटप, माउस, किबोर्ड अवैध रूपमा ल्याउने उक्त समूह नै बिस्तारै सुन तस्करीमा सक्रिय हुँदै आएको प्रहरी उच्च अधिकारीहरूको भनाइ छ ।

त्यतिबेला तत्कालीन आईजीपी खनालले उक्त तस्करी समूहमा सक्रिय चिनियाँ नागरिक चेन सितियान लगायतसँग भेटघाट गरेको तस्बिरसमेत सार्वजनिक भएको थियो ।

हाल आएर त्यही गिरोहले विद्युतीय चुरोट भेप र ब्रेक सुमा सुन (६१ किलो) राखी तस्करीमा सक्रिय रहेको फेला परेको हो। ७ महिनाअघि विद्युतिय चुरोट भेप र ब्रेक सुमा राखी सुन तस्करी गरेको प्रकरणमा राजनीतिक,प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो। तर,आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ।

आयोगले कारबाहीको सिफारिस गर्न औंल्याएकामध्ये केही प्रहरीको जिम्मेवारी हेरफेर गरी कार्यान्वयन सुरु गरेको जनाएको छ।

सुन तस्करीमा संलग्न बिचौलिया जीवन चलाउनेमाथि भएको अनुसन्धानको प्रमाण मेटाउनेसमेत काम गरेका तत्कालीन प्रहरी अधिकारीहरू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)प्रमुख, एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरको जिम्मेवारी हेरफेरसँगै विभागीय कारबाही गरेको हो।

प्रतिवेदन कार्यान्वयनको चरणमा प्रहरी अधिकारीहरूमाथि तत्कालै कारबाही भए पनि तस्करीमा संलग्न बाँकी आरोपितहरू र प्रमाण नष्ट गर्न सफल जीवन चलाउनेभन्दा अगाडिको अनुसन्धान कसरी अघि बढ्छ भन्नेमा गृह तथा प्रहरी प्रशासनले कुनै संकेत गरेको छैन ।

प्रतिवेदनमा केहीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने, केहीलाई मुद्दा चलाउनुपर्ने र केहीलाई कारबाही गर्न सिफारिस गरिएको छ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालक चिनियाँ नागरिक टेरेन्स टीएचसी, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश,वैदेशिक मामिला विज्ञरसल्लाहकार जीवनकुमार गुरुङ,विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी,होटल भियनाका सञ्चालक मञ्जिल श्रेष्ठ,व्यवसायी सुबुप्रताप केसी र प्रहरी संगठनभित्र बिचौलियाको भूमिकामा सक्रिय जीवन चलाउनेलाई सुन तस्करीको प्रकरणमा अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ ।

उल्लिखित नामहरूको सन्दर्भमा सुन तस्करीको प्रकरणमा के कस्तो संलग्नता रहेको भन्ने विषयमा आयोगले स्पष्ट पारे पनि चलाउनेभन्दा अघिल्लो तह भने स्थापित गर्न सकेको छैन ।

सीआईबीले प्रमाण नष्ट गरेको, क्लु नछाडेको र सीआईबी तथा गृह प्रशासनले आवश्यक विवरण उपलब्ध नगराएको भन्दै आयोगले चलाउनेभन्दा अघिल्लो तहमा पुग्न नसकेको जनाएको छ ।

अनुसन्धानमा लापरबाही गर्ने केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी हेडक्वार्टर सरुवा गरिसकिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रिमा लैजाने निर्णय गरेसँगै बज्राचार्यसहित ४ प्रहरीको जिम्मेवारी हेरफेर गरेको हो। बज्राचार्यको सरुवापछि सीआईबीको प्रमुखको जिम्मेवारी एआईजी श्याम ज्ञवालीलाई दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

साथै शुक्रबार नै सहकारी ठगी तथा उक्त सुन प्रकरणमा जोडिएका पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्त्रिपरिषद्को बैठक अघि गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका थिए ।

प्रधानमन्त्री आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही थाल्न निर्देशन दिएपछि गृहमन्त्री लामिछानेले दोषी देखिएका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए ।

अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी लगायतलाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ। सहसचिव अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयको प्रवक्ता छन्।

सरकारी वकिल कार्यालयका वासुदेव शर्मा र जनकराज घिमिरेलाई कारबाहीको सिफारिस गरिएको छ । कर्मचारीलाई सम्बन्धित निकायबाटै विभागीय कारबाही गरिने एक मन्त्रीले बताए। कान्तिपुरबाट