अब कांग्रेस बलियो प्रतिपक्ष हो: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन्।

नेपाली कांग्रेस कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारलाई जनताप्रति जबाफदेही बनाउने भूमिका संसदबाट कांग्रेसले खेल्ने बताए।

सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने बताए।

उनले माओवादी केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताए। महामन्त्री थापाले आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी पनि गरे।

‘गठबन्धनको राजनीतिले पार्टी कार्यकर्तामा निराश पैदा भएको महसुस भइरहेकै बेला नेकपा (माओवादी) केन्द्रले विभिन्न बहानामा गठबन्धन तोड्दा कांग्रेसलाई सङ्गठन विस्तार गर्ने मौका मिलेको छ, अब कांग्रेसभित्रको गुटउपगुट समाप्त पारेर कांग्रेस अगाडि बढ्छ,महामन्त्री थापाले भने।

नेपाली कांग्रेस अब विसं २०८२ मा हुने महाधिवेशनको तयारीमा जुट्ने पनि उनको भनाइ थियो।

महामन्त्री थापाले सुन तस्करी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै अनुसन्धानलाई फितलो बनाएर दोषीलाई उम्कने बाटो दिन नहुने उल्लेख गरे।