प्रदेश भागबन्डामा सहमति नजिक सत्ता गठबन्धन

काठमाडौं। सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक पुगेका छन्। एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित भएको छ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन्डा मंगलबारसम्म टुंग्याउने सहमति भएको हो।

सोमबार माओवादीको वाग्मती प्रदेश केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी भएका प्रधानमन्त्री दाहालले मंगलबार बेलुकासम्म प्रदेश सरकारको नेतृत्व टुंग्याइने बताएका छन्।

पुरानै नेतृत्वको सरकारमा सहमति भए विश्वासको मत लिने हुन्छ । नयाँ भए नयाँ प्रक्रियाबाट अघि बढ्छ,उनले भने ।

तीन नेताबीच भएको छलफलमा कोशीमा पहिलो चरणमा एमाले, दोस्रो चरणमा माओवादी, मधेशमा जनता समाजवादी पार्टीको नेतृत्वको सरकार निरन्तरता र दुई वर्षपछि एमाले, वाग्मतीमा माओवादीकै निरन्तरता र त्यसपछि एमालेले लिने गरी सहमति नजिक पुगेका छन्।

यस्तै, गण्डकी र लुम्बिनीमा पहिले माओवादी, त्यसपछि एमालेको मुख्यमन्त्री हुने गरी सहमतिको तयारी भइरहेको छ । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी गृहकार्य भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले मधेश वा वाग्मतीमा आफ्नो पार्टीलाई केही समय मुख्यमन्त्री दिनुपर्ने दाबी गरेका छन् ।

एकीकृत समाजवादी मधेशमा निर्णायक छ भने वाग्मतीमा हाम्रो नेपाली पार्टी सरकार गठनमा निर्णायक देखिएको छ । कर्णालीमा एमालेलाई नेतृत्व दिनेबारे दाहाल सकरात्मक भए पनि माओवादीभित्र विवाद छ ।

हाल कर्णालीमा माओवादीका राजकुमार शर्माको नेतृत्वमा सरकार भएकाले अझै कम्तीमा एक वर्ष यही नेतृत्व हुनुपर्ने माओवादीको केही नेताको भनाइ छ ।

दाहालनिकट स्रोतका अनुसार तीन नेताबीच सैद्धान्तिक सहमति भए पनि गठबन्धनको बैठकले मंगलबारसम्म टुंगो लगाउने तयारी छ ।

‘प्रदेशको नेतृत्वमा करिब सहमति जुटेको छ,’ स्रोतले भन्यो, ‘वाग्मतीमा र गण्डकीमा गठबन्धनको स्पष्ट बहुमत नभएकाले अन्य पार्टीको समर्थन जुटाएर बहुमतका लागि गृहकार्य भइरहेको छ । कोशीमा गत वर्ष एमालेको नेतृत्वको सरकार विस्थापित गरी कांग्रेस नेतृत्वको सरकार बनेको थियो ।

नयाँ समीकरण बनेसँगै त्यहाँ एमालेले दाबी गरेको छ । दोस्रो चरणमा माओवादीले नेतृत्वको दाबी गरेको छ । कोशी प्रदेशसभामा गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ ।

९३ सदस्य रहेको प्रदेशसभामा एमाले ४०, माओवादी १३ र जसपाको एक सिट छ । कोशीमा कांग्रेसका २९, राप्रपाका ६ र एसका ४ सांसद छन् । हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् ।

मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार छ । मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार एमालेका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले गत सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई मन्त्री नियुक्त गरी कांग्रेससँग सत्ता समीकरण फेरेका थिए ।

एमाले प्रदेश सांसद राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेका सांसद केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । मधेशमा एकीकृत समाजवादीका सांसदलाई पनि मन्त्री बनाउने तयारी छ । मधेश प्रदेशसभामा एमालेका २३, जसपाका १८, माओवादीका ९ र एकीकृत समजावादीका ७ सांसद भएकाले बहुमत पुग्छ ।

प्रदेशसभामा १ सय ७ सिट छ । सभामा १३ सिट भएको जनमत, ९ सिट भएको लोसपा सरकार बाहिर छन् । स्वतन्त्र ३, संघीय समाजवादीको एक, नागरिक उन्मुक्तिका ३ सिट छ भने कांग्रेसका २३ र राप्रपाको एक सिट छ ।

वाग्मतीमा अहिले माओवादीका शालिकराम जम्कट्टेल नेतृत्वको सरकार छ । प्रदेशसभामा एमालेको २७ र माओवादीको २१ सिट छ । १ सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा बहुमतका ५६ सिट आवश्यक छ ।

गठबन्धनमा एकीकृत समाजवादीको ७ सिट भए पनि गठबन्धनलाई बहुमतका लागि थप दुई सिट आवश्यक पर्छ । नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

माओवादी वाग्मती प्रदेश अध्यक्ष एवं माओवादी प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले हाम्रो नेपाली पार्टीसँग वार्ता भइरहेको बताए । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीको दाबी गरेको छ । वाग्मतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ ।

त्यस्तै, गण्डकीमा अहिले कांग्रेसका सुरेन्द्र पाण्डेको नेतृत्वमा सरकार छ । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार बचाउन कांग्रेसलाई कुल ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेस आफैंसँग २७ सिट छ भने तीन सिट भएको राप्रपा निर्णयमा पुगिसकेको छैन । गण्डकीमा एमालेका २२, माओवादीका ८ र एकीकृत समाजवादीका एक सांसद छन् ।

उनीहरूले सरकारको दाबी गर्न सक्छन् । सरकार दाबी गरेपछि माओवादी कोटाबाट सभामुख भएकाले बराबर हुने अवस्थामा मताधिकारको अधिकार रहन्छ ।

लुम्बिनीमा पनि कांग्रेसका डिल्ली चौधरीको नेतृत्वको सरकार छ । गठबन्धनका शीर्ष नेताहरूबीच माओवादीले नेतृत्व लिने गरी छलफल भइरहेको छ । प्रदेशसभामा एमाले २९, माओवादी ११, जसपा ३, एकीकृत समाजवादीका एक सिट मिलेर कुल ४४ सिटसहित बहुमत पुग्छ ।

सुदूरपश्चिममा उन्मुक्तिलाई मुख्यमन्त्री दिए लुम्बिनीमा थप ४ सिट थपिने छ । लुम्बिनी प्रदेशसभामा जनमोर्चा र एसको एकरएक सिट छ । उन्मुक्ति पार्टीका ४, लोसपाका ३ सांसद छन् भने एक स्वतन्त्र सांसद छन् ।

कर्णालीमा माओवादीका राजकुमार शर्माको नेतृत्वमा सरकार छ । कर्णाली प्रदेशसभामा ४० सांसद छन् । यो सरकार जोगाउन माओवादीका १३, एमालेका १० सांसद भए बहुमत पुग्छ । तर एमालेले सरकारको नेतृत्व लिने तयारी गरेको छ । प्रदेशसभामा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्रका १ सांसद छन् ।

सुदूरपश्चिम प्रदशेमा गठबन्धनले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिएर कांग्रेस नेतृत्व सरकार विस्थापित गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच यसबारे प्रारम्भिक सझदारी छ । उन्मुक्तिले सुदूरमा मुख्यमन्त्रीसहित केन्द्रमा एक मन्त्री हुनुपर्ने माग गरेको छ ।

सुदूरमा कांग्रेसबाट मुख्यमन्त्री कमलबहादुर शाह छन् । उनले बहुमत पुर्‍याउने कसरत जारी राखेका छन् । उनले बहुमत पुर्‍याउन फागुन २५ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, खुसीराम डगौरा थारू र इन्दिरा गिरीलाई मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता चौधरीलाई आर्थिक मामिला, डगौरा थारूलाई बिनाविभागीय मन्त्री र गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका थिए ।

नागरिक उन्मुक्तिले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरी रहेकामा कैलाशलाई भने फिर्ता बोलाएको थियो। शाहले राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् । उन्मुक्तिले मुख्यमन्त्री पाउने अवस्थामा मात्र यो सरकार ढल्ने देखिन्छ ।

सुदूरपश्चिको ५३ सदस्यीय प्रदेशसभामा बहुमत सरकार बनाउनका लागि २७ सिट आवश्यक पर्छ । माओवादीको ११ एमालेको १०, नागरिक उन्मुक्तिको ७, एकीकृत समाजवादीको ४ सिट जोड्दा बहुमत पुग्छ। गठबन्धनले उन्मुक्तिलाई मुख्यमन्त्री दिए सहजै बहुमत पुग्ने छ । यहाँको कांग्रेसको १८, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् । कान्तिपुरबाट