प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच छलफल

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड र संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ। बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ।

साथै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ।

प्रतिनिधि सभा अन्तर्गत रहेको कानुन न्याय र मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छ।

सरकारले कांग्रेस, एमाले सहितका दलहरूको सर्वसम्मतिमा विधेयक पास गराउन विगतदेखि पहल गर्दै आइरहेको छ।