इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

काठमाडौं । सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि म्यानपावर कम्पनीबाट हुने इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको जानकारी दिएको हो।

विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ।

दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट कामदार पठाउने गरिएको थियो।

विभागले इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति, संस्था तथा समूहले गैरकानूनी रूपमा रकम उठाउने गरेको सूचना प्राप्त भएको भन्दै कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुनसक्ने ठगीबाट बच्न समेत सुझाव दिएको छ।

अहिले पनि हमास र इजरायलबीच गाजा क्षेत्रमा जारी युद्ध छ। जहाँ युद्धमा ३२ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भएको छ भने इजरायतर्फको क्षति पूर्ण रुपमा बाहिर आउन सकेको छैन।

यस्तो अवस्थामा पनि सरकारले इजरायलमा नेपाली कामदार पठाउने तयारी गरेका थियो। विदेशबाट फर्कने १०० जना नेपालीलाई रोजगारी दिने महत्वाकांक्षी भाषण गरेर जनतालाई गुमराहमा राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै उपाध्यक्ष डोलप्रसाद अर्याल नेतृत्वको श्रम मन्त्रालयसँग इजरायलले नयाँ कामदार लैजाने प्रस्ताव गरेपछि असुरक्षित रहेको युद्धग्रस्त मुलुकमा कामदार पठाउने तयारी गरेको थियो ।

मन्त्रालयले २५२ जनालाई इजरायल पठाउनका लागि चैत ६ गते र ९ गते गरी दुई चरणमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम समेत दिइसकेको छ।

मानवअधिकार ग्यारेन्टी भएको देश, सुरक्षित गन्तव्य, ठगी नहुने र आकर्षक तलब सुविधाजस्ता विशेषताका कारण कामदारको आकर्षण बढेको भएपनि अहिले युद्धमा रहेकाले त्यहाँ नेपालीहरू सुरक्षित छैनन भन्ने थाहा हुँदाहुँदै सरकार आफैले नेपालीहरूलाई पठाउन लागेपछि त्यसको आलोचना भएको थियो।

युद्धग्रस्त इजरायलमा नेपाली कामदार पठाउन लागिएको खबर सञ्चार माध्यममा आएपछि अहिले आएर वैदेशिक रोजगार विभागले रोक लगाएको हो ।