हवाई टिकटमा लगाइएको भ्याट हटाउन महासंघको माग

काठमाडौं। हवाई टिकटमा लगाइएको १३ प्रतिशत भ्याट हटाउन व्यवसायीले सुझाव दिएका छन्। बिहीबार संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र नेपाल उद्योग वाणिज्य महासंघबीच पर्यटन क्षेत्रमा नीतिगत सुधारका विषयमा भएको छलफलमा व्यवसायीहरुले हवाई टिकटमा लगाएको १३ प्रतिशत भ्याट हटाउनेसहित ७ बुँदे सुझाव दिएका हुन्।

महासंघको पर्यटन तथा हवाई यातायात समितिले विशेषगरी पर्यटनको दिगो विकासका लागि टास्कफोर्स गठन गर्नुपर्ने,भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने नगदको सीमा बढाउनुपर्ने,तारे होटलमा लगाइएको लक्जरी कर हटाउनुपर्ने,हवाई खरिदमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउनुपर्ने,विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनमा भएको रोयल्टीको व्यवस्थालाई संसोधन गर्नुपर्ने,होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गर्नुपर्नेजस्ता माग राखेको थियो।

समितका सभापति राजकिशोर यादवले महासंघको उक्त मागहरु देशको हितमा भएको र यस विषयमा तत्काल सम्बद्ध निकायसँग छलफल गरि निकास दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

साथै यादवले छलफलका क्रममा प्रस्तुत भएका महत्वपूर्ण विषयहरूलाई स्वीकार गर्दै उनले पहिचान गरिएका चुनौतीहरूलाई उजागर गर्दै समितिले सावधानीपूर्वक मस्यौदा तयार गर्ने आश्वासन समेत दिएका छन्।

छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन उद्योगमा देखिएका चुनौतिहरुलाई सरकारले सक्रिय रुपमा सम्बोधन गर्दै प्रभावकारी समाधान खोज्नुपर्ने बताए।

साथै उनले यस क्षेत्र भित्रको विकास र नवप्रवर्तनलाई बढावा दिनुपर्ने भन्दै सोही अनुरुप नीति नियम संशोधन हुनुपर्ने बताए।

यसैगरी महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु (अजित) बस्नेतले सरकारले हवाई टिकटमा लाग्दै आएको १३ प्रतिशत भ्याट र होटलमा लगाइएको विलासी करलाई हटाउनुपर्ने बताए।

साथै वस्नेतले विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन २०७५ (फिता) मा भएको रोयल्टी सम्बन्धी व्यवस्थाका साथै,विशेष आर्थिक क्षेत्र ऐन, र इलेक्ट्रोनिक लेनदेन ऐन जस्ता महत्वपूर्ण कानूनहरूमा संशोधन गर्न सुझाव दिँदै विदेशी लगानीकर्ताहरूका लागि नेपाल लगानीको मुख्य गन्तव्यको रुपमा विकास गर्न आग्रह गरेका छन्।