‘छेपारोभन्दा छिटो रंग’ फेर्ने र आफ्नै बोलीमा अडिन नसक्ने नेताले देश र जनताको लागि काम गर्लान् ?

नेपालमा पहिलोपटक २०६४ चैत २८ गते संविधान सभाको चुनाव भयो। यद्यपि, सो चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले संविधान बनाउन सकेनन्। संविधान बनाउनका लागि २०७० सालमा पुनः दोहोर्याएर चुनाव भयो। त्यतिबेलाको चुनावमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट महेश बस्नेत उठे।

पार्टीमा अन्य राम्रा नेता थिए। तर, तिनले टिकट नपाएनन्। जनतामाझ भिजेको, पार्टीमा संघर्ष गरेकालाई टिकट दिनुको साटो एमाले अध्यक्ष केपी शर्मा ओलीले बस्नेतलाई टिकट दिए। पार्टीले टिकट त दियो, जनताले पत्याएनन्। बस्नेत हारे। २०७१ सालदेखि सुशील कोइरालाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

एमाले र काँग्रेसको गठबन्धन भएकाले ओलीले बस्नेतलाई उद्योगमन्त्री बनाउन पार्टीको तर्फबाट सिफारिस गरिदिए। कोइरालाको सरकारमा बस्नेत उद्योगमन्त्री भए। उद्योगमन्त्री भएपछि उनले अंकुत सम्पत्ति कमाएको बताइन्छ। उनले धमाधम अघिल्लो सरकारले गरेको निर्णय उल्टाइदिए।

कोइराला अघिको सरकारले काठमाडौं उपत्यकाबाट क्रसर उद्योग, ईट्टाभट्टा हटाउने निर्णय गरेको थियो। तर, उनले ती उद्योग सञ्चालन गर्न स्वीकृति दिए। यता, लामो समयदेखि रोकिएको मदिराको लाइसेन्स बाँड्ने काम पनि शुरु भयो। २०७४ सालको चुनावमा उनले सोही क्षेत्रबाट चुनाव जिते।

सांसद बने। ओली प्रधानमन्त्री भए। बस्नेत ओलीको दाहिने हात हुन् भन्ने कुरा त घामजस्तै छर्लङ्ग छ। जनताको काम गर्नुभन्दा पनि बस्नेतलाई ओलीकै चाकडी गर्दै ठिक्क भयो। ओलीको नाम लिँदै ठेक्कापट्टा मिलाउने, खाने काम मौलायो। जसका कारण अघिल्लो वर्ष भएको चुनावमा उनी नराम्ररी पछारिए।

भक्तपुरबासीले उनलाई हराइदिए। अहिले बस्नेत ‘केटी प्रकरण’ मा मुछिएका छन्। तर, पार्टीले बस्नेतलाई कारबाही गरेको छैन्। बस्नेतजस्तैका कारण आज एमाले तहसनहसको अवस्थामा पुगेको छ। पार्टी अध्यक्षको निकट हुनेले जस्तोसुकै हर्कत गरेपनि कारबाहीको दायरामा ल्याइँदैन्, किन ?

एमालेभित्रै विभेद छ। देश र जनताको पक्षमा आवाज उठाउनेलाई ओलीले छोड्दैनन् । भीम रावलदेखि माधवकुमार नेपालसम्मले ओलीको ‘डण्डाको स्वाद’ चाखेका छन्। उनीहरुलाई ओलीले केसम्म भनेनन् र गरेनन् । मुलुककै ठूलो पार्टी एमालेप्रति जनताको नजर फेरिएको छ।

एमाले स्थापना गर्न लागेको दुःख र संघर्ष ओली र बस्नेतजस्ताले ‘वालुवामा पानी’ बनाएका छन् । उनीहरुको कारणले गर्दा एमाले क्रमिक रुपमा नाङ्गिँदै छ। एमालेकै कार्यकर्ताहरु पनि काखा र पाखा गर्ने प्रवृत्तिबाट सन्तुष्ट छैनन् । एमालेका अन्य नेतालाई पनि केटी काण्डको आरोप लागेको छ।

तिनीहरुमाथि डण्डा चलाउँदा बस्नेत जस्तालाई कारबाही गर्नुपर्दैन् ? ओलीको सिद्धान्तः आफूनिकटस्थले जतिसुकै नराम्रो काम गरुन् अनदेखा गरिदिने, अन्यले आफ्नो विरोधमा बोल्यो भनेपनि कारबाही गरिहाल्ने। ओलीकै विचारधाराले गर्दा जनताको आँखामा एमाले गिरेको छ, पार्टी कमजोर हुँदैछ।

ओलीले अहिले जतिसुकै देश र जनताको भक्तिगान गाएपनि कसले पत्याउँछ ? किन कि जनताले उनको कामगराई देखिसकेका छन्। प्रधानमन्त्री हुँदा उनले केसम्म गरेनन् ? वर्णन गर्नलाई शब्दकै खाँचो पर्छ। देशको प्रधानमन्त्रीजस्तो व्यक्ति वालुवाटारमा बसेर बाँसुरी बजाउने र दिन कटाउने।

सिंहदरबार कहिले नआउने,पार्टीको होस् या मन्त्रिपरिषद्को, दुवै बैठक वालुवाटारमै राख्ने। आफ्नो जन्मदिनमा देशको नक्सा भएको केक काटेर खाने। जनताले तिरेको करबाट आफ्ना कार्यकर्तालाई भोज दिने। जसका कारण मंसिर ४ गते भएको निर्वाचनमा एमाले दोस्रो दल हुन पुग्यो।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भयो। छिमेकी देशको दबाबका बाबजुद कोइरालाले मरिमेटेरै संविधान बनाए। संविधान बनाउनेबित्तिकै भारतले नेपाललाई नाकाबन्दी गर्यो। जनताबाट चुनिएर आएको जनप्रतिनिधिले आफ्नो देश र जनताका लागि संविधान बनाए।

त्यसमा त न कोइरालाको गल्ती थियो न जनप्रतिनिधिको। जनप्रतिनिधिले सदैव देश र जनतालाई ध्यानमा राखेर काम गर्नुपर्छ। त्यो गर्दाखेरि नेपालले नाकाबन्दी खेप्नुपर्यो। संविधान बन्नेबित्तिकै ओलीले कोइरालाको खोइरो खन्न थाले। कोइराला हिरो बन्ने डर ओलीलाई थियो।

उनले कोइरालालाई हटाएर आफू प्रधानमन्त्री भए। २०६४ सालको चुनावपछि धेरै प्रधानमन्त्री आए र गए। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल,माधवकुमार नेपाल, बाबुराम भट्टराई प्रधानमन्त्री भए। तर, कोइरालाले त बनाएरै छाडे । संविधान बनाएको सजाय समग्र नेपालीले भोगिरहेका थिए।

त्यसको फाइदा ओलीले उठाए। ओलीले पहिले नाकाबन्दी हटाऊ अनि मात्र म भारत आउँछु भने। ओलीको ‘प्लान’ जनताले बुझेका थिएनन्। ओली उखानटुक्का भन्नमा माहिर छन्। हसाएजस्तो गर्ने तर अर्काले ‘कुकुरलाई भनेजसरी’ गाली गर्ने त उनको स्वभावै हो। २०७२ माघ २४ गते कोइरालाको निधन भयो।

कोइराला नभएको भए आजसम्म देशको संविधान बन्दैन्थ्यो। देशका लागि कोइरालाले ठूलो योगदान दिएका छन्। त्यही संविधानको आधारमा आज देश चलिरहेको छ। तर, जनताले यो कुरा बिर्सिए। उखानटुक्का र ओलीको नौटंकीको पछाडि जनता लागे, २०७४ सालमा एमाले पहिलो पार्टी बन्यो।

प्रधानमन्त्री भएर काम गर्न नसकेपछि ओलीले दुईपटक संसद विघटन गरे। उनी दुईपटक संसद विघटन गर्ने पहिलो व्यक्ति हुन्। ओलीसँग काम गर्ने क्षमता छैन्,गफ हान्ने मात्र छ भन्ने त सबैले थाहा पाइहाले। तर, अलिक ढिलो भयो। पदको लोभी प्रचण्ड पनि ओलीकै दौरा समात्दै हिँड्थे।

आफ्नो पार्टीको सिद्धान्त, विचार त्यागेर उनी ओलीको पछिपछि लागे। २०७४ सालमा संघदेखि स्थानीयसम्म एमालेका जनप्रतिनिधि धेरै थिए। तर, जनताले चुनेकालाई ओलीले मन्त्री बन्ने मौका दिएनन्। सरकारी पेशाबाट आएका युवराज खतिवडा अर्थमन्त्री भए। जबकी उनी निर्वाचन नै लडेका थिएनन्।

केही महिना अघिसम्म ओली प्रचण्ड सरकारको विरोध जनाउँदै हिँडेका थिए। प्रचण्ड एक मीनेट पनि सरकारमा बसे भने देश सकिन्छ भनेर ओली व्यापक विरोध गर्थे। जनताको आवाज उठाउन छोडेर एमाले र रास्वपा २०८४ को मिसनमा लागेका थिए। अहिले त्यही दुई पार्टी सरकारमा गएको छ।

तिनले के नै उखाल्छन्, जनताले हेरिरहेका छन्। अहिले त ओलीले प्रचण्डको विरोध नगर्न भनेका छन्। राजनीतिक दलहरुले ‘छेपारोभन्दा छिटो रंग’ फेर्छन् र यिनीहरुसँग नैतिकता भन्ने चीज नै छैन् भन्ने उदाहरण हो यो। सर्वोच्च अदालतले प्रधानमन्त्री पद खोसेपछि वालुवाटारबाट निस्किँदा बस्नेतलाई बाइकको र्याली लगाएर ओलीलाई बालकोट ल्याएका थिए।

उनले बालकोटको बार्दलीमा बसेर माधवकुमार नेपाललाई मुखमा आएजति गाली गरे।गद्दार,माधवको नाम लियो भने मुख पानी हालेर खोकल्नुपर्छ’लगायतका शब्दको प्रयोग गरियो। त्यही ओली केही दिनअघि नेपालको घर पुगेको देखियो। पदको लागि यहाँ केसम्म हुन्छ र नेता भनाउँदाहरु कतिसम्म गिर्छन् भन्ने छर्लङ्ग भएको छ।

त्यसैले यस्ता नेताले देशका लागि केही गर्छन्,परिवर्तन ल्याउँछन् भनेर सोच्नु पनि बेकार हुन्छ। जो आफ्नो बोलीमा त टिक्न सक्दैन्,उसले काम गर्छ ? जनताले यस्ता नेताहरुलाई चिन्नुपर्छ।