स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना

File Photos: THT

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानीय तहलाई ताकेता स्वरुप सूचना निकालेको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न ताकेता दिएइको छ।

विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ। किस्ताबन्दीको सुविधा माग गरी बक्यौता महसुल भुक्तानी गर्न पनि सकिने प्राधिकरणले जनाएको छ।

सडकबत्तीको ग्राहक नबन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र विनामिटर अनधिकृत तवरबाट सडक बत्ती जडान गर्नेहरुको लाइन जुनसुकै बेला काट्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणका अनुसार स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेबाफत करिब ६ अर्बभन्दा बढी बक्यौता छ।