रेशम–रन्जिताको विवादले सांसदहरुको बिचल्ली,खास विवाद के हो ?

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी भित्रको विवादले उग्ररुप लिएको छ। सुदूरपश्चिम सरकारमा सहभागिताको विषयले केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरी पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो। अध्यक्ष रन्जिता र संरक्षक रेशम पक्षबीच यही रस्साकस्सी कायम रहे नाउपाको विभाजन निश्चित जस्तै छ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भई मन्त्री पद गुमाएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र उनका पति समेत रहेका संरक्षक रेशम चौधरीबीच टकराव बढेको छ।

जसरी पनि संघीय सरकारमा सहभागि हुने रन्जिताको ढिपी र नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने रेशमको अडानले विवाद चरम बनी पार्टी नै विभाजनतर्फको अवस्था आएको छ।

सुदूरपश्चिम सरकारमा नाउपाका ५ सांसद मन्त्री बनेका छन्। तर प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेख्दै तत्काल फिर्ता आउन अध्यक्ष रन्जिताले निर्देशन दिइन्।

रन्जिताको पत्रमा लेखिएको व्यहोरा प्रदेश मन्त्रीहरुले टेरेका छैनन्। उनीहरुले विज्ञप्ती नै जारी गरि संस्थापक केन्द्रीय सदस्यहरुको बैठकको निर्णय अल्पमतको निर्णय भएकाले त्यो मान्य नहुने जनाएका छन्।

के थियो संस्थापक केन्द्रीय सदस्यहरुको बैठकबाट गरिएको निर्णय 

– संघीय सरकारमा सहभागी हुने गरि निर्णय गराउन टिकापुरमा चैत्र १४ गते रन्जिताद्धारा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक आह्वान

– बैठकबाट माओवादी–एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको पक्ष लिने र त्यही समीकरणअनुसार प्रदेशहरूका सरकारमा जाने निर्णय

– तर, बैठकको निर्णय कार्यान्वयनमा आउनु अघि नै अन्य संस्थापक सदस्यहरुबाट निर्णयविरुद्ध फरक मत दायर

– बैठकमा रेशम पक्षका अधिकांश संस्थापक केन्द्रीय सदस्यहरु अनुउपस्थित

– बैठकमा २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जना मात्रै उपस्थित

– बैठकको निर्णय अल्पमत सदस्यले गरेका कारण मान्य नहुने भन्दै विरोधका स्वर

सबै परिस्थिति हेर्दा नाउपा भित्रको विवाद यसै साम्य हुने देखिन्न । सत्ता स्वार्थकै कारण नाउपा विभाजनतर्फ देखिएको छ ।

रन्जिता र रेशमबीचको खास विवाद के ?

पार्टीका परिकल्पनाकार समेत रहेका संरक्षक रेशमलाल चौधरी र उनी पत्नी समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच सत्तामा सहभागिताबारे तालमेल नमिल्दा नागरिक उन्मुक्ति पार्टी भित्र चरम विवाद देखिएको हो।

गएको पुसमा गरिएको महाधिवेशनले रेशमलाई अध्यक्ष चयन गरे पनि निर्वाचन आयोगमा वेनामे उजुरी दिन लगाएरै भएपनि रन्जिताले आफुलाई पार्टी अध्यक्षमा पुनः स्थापित गरिसकेकी छन्। त्यस यता उनले आफुलाई सत्ता शक्तिसँग नजिक बनाउदै लगेकी छन्।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्ड एमालेसँगको सत्ता यात्रामा हिडेपछि रन्जिता पनि अहिले त्यही लाइनमा गइरहेकी छन्। तर, रेशमले भने यो साना दलहरुलाई कमजोर बनाउने खेलमात्रै भएकाले अब संघीय सरकारमा जानु हुन्न् भन्नेमा अडिग रहेको बताइरहेका छन्।

नाउपासँग सुदूरपश्चिम सरकारमा ७ सांसद रहेको र यो संख्या सरकारमा जान भनि जनताले दिएको म्यान्डेड हो भन्ने मत रेशमको छ। त्यसैले सुदूरपश्चिम सरकारको वर्तमान नेतृत्वलाई नै समर्थन गर्ने अनि अधिंकाश मन्त्रालयमा आफ्नो पक्कड राखि जनआवश्यकताका काम प्रभावकारी ढंगले गर्ने अडान रेशम र रेशम पक्षीय नेताहरुको छ। तर, केन्द्रीय सत्ताको लोभका कारण रेशमको रणनीतिको पूर्ण विपरित छन् रन्जिता।

नाउपा भित्रको यस विवादले आगामी दिनमा कस्तो परिणाम दिने भन्ने टुङगो रेशमले अब अपनाउने रणनीतिमा निर्भर रहने देखिन्छ।