वामपन्थी एकतामा प्रचण्डको हतारो,ओलीको मौनता,के वामपन्थीहरूको एकता सम्भव होला?

काठमाडौं। सत्ता समिकरण अदलबदल गर्दै आएका प्रधानमन्त्री प्रचण्ड फेरि वामपन्थी एकताको बहसमा उत्रिन थालेका छन्। एमालेसहितको समिकरण निर्माणपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी कार्यभार पूरा गर्न वामपन्थी दलहरु मिल्नुपर्ने भन्दै एकताको वातावरण बनाउन लागि पर्न थालेका छन्।

तर, के एमाले नेतृत्व तयार बन्ला? सामान्य विवादमै टुटफुटमा पुगिहाल्ने कम्युनिष्ट दलहरु एकताको बहस गरेर थाक्दैनन्। उनीहरु जति फुटेपनि एकताको विषयमा बहस गरिरहने गर्छन्। तर,वामपन्थी एकता विषय लामो समयसम्म टिक्न भने सकेको देखिन्न।

कुनैबेला एमाले–माओवादीको पार्टी एकताले थपेको उत्साह क्षणभरमै सकिएको अवस्था पनि छ। यस्तोमा के वामपन्थी दलहरु फेरि एकतामा जालान?

प्रश्न भने छ तर, पदको लागि समिकरण नबनाएको दाबी गरिरहेका प्रधानमन्त्री प्रचण्डले मुलुकलाई निकास दिनेमा आफू प्रतिबद्ध रहेको दाबा गरिरहेका छन्।

२०७४ को चुनावमा वामपन्थी दलले प्राप्त गरेको हैसियत र त्यो विरासत जोगाउन नसकेकोमा दुखी देखिएका प्रचण्डले अब नयाँ ढंगले सोच्नुपर्ने बताएका छन्। गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले एमालेसहित वामपन्थी एकताको बाटोमा फर्किएको दाबी गरेका छन्।

एमालेसहितको वामपन्थी एकताको विषयमा प्रचण्डले दाबी गरेपनि एमाले नेतृत्व यो विषयमा तयार छ त ? यो आम चासोको विषय बनिरहेको छ। एमाले नेतृत्व पनि माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले आत्मालोचना गरेपछि समिकरण सहज बनेको दाबी गरिरहेको स्थिति छ।

वामपन्थी एकता वा सहकार्यको विषयमा एमाले अझैं पनि तयार भएको अवस्था भने देखिन्न। उपचुनावको विषयमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा समेत केपी ओलीले माओवादी र नेकपा एकीकृत समाजवादीले एमालेलाई समर्थन गर्नुपर्ने भन्दै कडा रुपमा पेश भएका छन्।

माओवादीको मतलाई संख्यामा तोकेर बोल्दै ओलीले समर्थन गर्न नसकिने विषयलाई समेत उनले प्रष्टाएका छन्।एकाएक एकतामा पुगेका प्रचण्ड–ओली नजिकिएको अवस्था देखिएपनि उनीहरु फेरि एकतामै गइहाल्ने स्थिति भने बनेको देखिन्न।

ओलीले अझैपनि माओवादी र नेकपा एसलाई सहज रुपमा लिन सकेको देखिन्न भने वामपन्थी एकताको नाममा जथाभावी नगरिने एमाले नेताहरुले दाबी गर्ने गरेका छन्।

तर,उपचुनावको समिकरण र त्यसपछि सिर्जित स्थितिले भने यी दल र नेताहरुलाई नजिक ल्याउने वा टाढा राख्ने विषयमा महत्व राख्नेछ।